जो वस्तु हामी सङ्ग्रह गर्छौं, त्यो वस्तुले हामीलाई सङ्ग्रह गर्छ । सत्यको अनिर्मित पथमा आकाङ्क्षा, अपेक्षा तथा आशा निराशा नराखी हिँड्छ । एक पाइला अगाडि सत्य भेटिन सक्छ तथा कहिले काहीँ हजारौँ माइल हिँडेर भेटिएला, हिँड्नुप¥यो, केही गरेर, नगरेर, चाहेर, नचाहेर पाइने वस्तु होइन, त्यो वस्तु तिमी हौ । जब तिमी सबै आरोपित उपाधि छोड्न सक्छौ, त्यस क्षण जो हलुङ्गो भाव, खुलापन, स्वतन्त्रता हुन्छ, त्यो समयका परिधिमा छैन । तिमी पनि समय, विचार, आग्रहबाट मुक्त समयातीत, सर्वदा नूतन, अनुपम आनन्द हौ । नसमात, नत्याग, नकेही गर । शान्त बस, मुस्कुराऊ, हृदयभित्र कोही छ भनी हाँसीखुसी वार्तालाप गर । पढ, लेख, फूलका विरुवा रोप, दुईचार घण्टाको बाटो भ्रमण गर्न जाऊ । देख्दा, बोल्दा, खाँदा, बस्दा, संवादमा, श्वास लिँदा, माधुर्य लीलामा केही उग्रभाव आउँदा सबैमा होश राख, त्यहाँ जीवन छ । जीवन–स्वयं सत् चित् आनन्द, नित्य, शुद्ध, बुद्ध, मुक्त छ । अरू नसम्झ, कल्पना नगर, गर्छु गर्दिनँ केही नभन, आफूभित्र रमाऊ ।
साभारः ‘विचारप्रवाह’ पुस्तकबाट













