पोखरा, २७ मंसिर । पर्यटकीय नगरी पोखरा सबै मौसमका लागि उत्तिकै आकर्षक गन्तव्य मानिन्छ । यहाँका प्राकृतिक सम्पदाले पोखरा आउने जोकोहीलाई अर्कोपल्ट फेरि आउने निम्ता दिने गर्छ ।

प्रकृतिलाई नजिकबाट नियालेर आनन्द लिने अवसर पोखरामा रहेका विभिन्न प्राकृतिक दृष्यहरुले प्रदान गरेको छ । प्राकृतिक गुणले पर्यटकलाई लोभ्याउने पोखराको आकर्षक गन्तव्य मध्ये पाताले छाँगो पनि एक हो । पोखरा–१७ को छोरपाटनमा रहेको यस छाँगोले पर्यटकलाई झनै लोभ्याइरहेको छ । जमिनको सतहभन्दा तल गुप्तेश्वर गुफातर्फ झर्ने यो झरना वर्खायाममा झनै हेर्न लायकको देखिन्छ । पर्यटकलाई लोभ्याउने पाताले छाँगोलाई ‘डेभिज फल्स’ भनेर समेत चिनिन्छ । कोभिडका कारण दुई वर्षदेखि छाँगो अवलोकन गर्ने पर्यटकको संख्यामा कमी आएको भएपनि दशैं पर्वपछिको दुई महिनायता पर्यटकको संख्या ह्वात्तै वढेको छ ।
विशेषगरी यतिवेला पातले छाँगोको अवलोकन गर्न अधिकांश भारतीय पर्यटक र शैक्षिक भ्रमणमा आउने विद्यार्थीहरू वढी हुने गरेको जानकारी पातले छाँगो स्थित टिकट काउण्टरका प्रमुख सुरेन्द्र सापकोटाले दिनुभयो । सबै देशका गरी यतिबेला दैनिक तीन देखि तीन हजार पाँच सयको संख्यामा छाँगो अवलोकन गर्न आउने पर्यटकको तथ्याङ्क पनि सापकोटाले दिनुभयो । दशै अघिको समयमा दैनिक एक हजारको संख्यामा अवलोकन गर्न पर्यटक आउने गरेका थिए ।
भारतीय पर्यटक र शैक्षिक भ्रमणमा आउने विद्यार्थीको पहिलो रोजाइ पातले छाँगो अवलोकन नै रहेको सापकोटाको भनाई छ । सोमबार दिउँसो पातले छाँगो अवलोकन गर्न पुग्नभएकी भारत विहार प्रदेश निवासी पुनम कुमारीले भन्नुभयो, ‘पातले छाँगो वहुँतै अच्छा है, यहाँका फेवा ताल, गुप्तेश्वर गुफा महेन्द्र गुफा, म्यूजियमलगायत अन्य जग्गा बहुँत सुन्दर है’ ।
स्पेनबाट आएका दुई पर्यटक पातले छाँगो अवलोकन पछि भन्दै थिए, यस्ता प्राकृतिक झरनाले हाम्रो मन निकै लोभ्यायो, सिटी नजिकै फेवाताल, डेभिज फल्स, बेगनास, माछापुच्छ«े हिमाल जस्ता प्राकृतिक सम्पदा देख्न पाउँदा आनन्दित भएको उनीहरु बताउँछन् ।
पातले छाँगो अवलोकन गरेवापत प्रवेश शुल्कबाट वार्षिक दुई करोड रुपैयाँभन्दा वढी आम्दानी हुने गर्छ । छाँगो संचालन र संरक्षणको जिम्मा स्थानीय छोरेपाटन माविले लिएको छ । उक्त शुल्क बापत हुने आम्दानी निजी श्रोतबाट राखिएका ७० जना शिक्षकको तलव र छाँगोमा परिचालित कर्मचारीको तलवका साथै बाँकी रकम त्यहीको संरचना निर्माणमा खर्च गर्ने गरेको उक्त विद्यालयका प्रधानाध्यापक डिल्लीराम शर्माले बताउनुभयो ।
प्रधानाध्यापक शर्माका अनुसार दुई हजार तीन सय विद्यार्थी संख्या रहेको छोरेपाटन माविमा सरकारी स्तरबाट २५ जना मात्र शिक्षक दरबन्दी रहेको र निजीस्तरबाट ७० जना शिक्षक तथा कर्मचारी रहेका हुँदा शुल्कबाट उठेको रकम अधिकांश तलव भत्तामा नै खर्च हुने गर्छ । २०३५ सालदेखि विद्यालयले पाताले छाँगो अवलोकन गर्ने पर्यटकहरुबाट प्रवेश शुल्क उठाउँदै आएको हो । आम्दानीको ४० प्रतिशत पाताले छाँगो व्यवस्थापन र बाँकी ६० प्रतिशत विद्यालयको शैक्षिक भौतिक विकासका लागि खर्च गरिने जानकारी शर्माले दिनुभयो ।
यहाँको पर्यटकहरु सेल्फी खिच्दै छाँगोबाट आइरहेको पानीको शीतलतामा रमाइरहेको यहाँ पुग्ने जोकोहीले सजिलै हेर्न सकिन्छ । डेभी नाम गरेकी एक स्विस पर्यटक यस झरनाबाट खसेर बेपत्ता भएको हुनाले यस झरनाको नाम डेभिज फल्स रहन गएको हो । सन् १९६१ मा फेवा तालमा पौडदै गर्दा एक जना स्विस पर्यटक अप्रत्यासित रूपले आएको बाढीको कारण पानीमै बगीन र उसलाई उसको श्रीमानले जोगाउन सकेन यसै प्रकार, त्यस महिलाको शरीर कहिले पनि भेटाउन सकिएन जसको फलस्वरूप यस पाताले छाँगोलाई त्यस महिलाको नाम बाटै डेभिज फल्स नामाङ्कित गरियो ।
५०० मिटर भूमिगत जल प्रवाह र १०० फिट गहिराइ रहेको छाँगोमा निरन्तर जल प्रवाह भइरहन्छ भने जेठदेखि असोज महिना छाँगो हेर्न आकर्षक मानिन्छ । छाँगो वरिपरीका फूलका बगैंचा, परम्परागत घर, हिमालका कृत्रिम दृष्य, बुद्धका मूर्ति र विभिन्न जनजातिका पोसाकसहितका तस्वीर खिच्ने ठाउँहरुले पनि पर्यटकलाई लोभ्याएको पाइन्छ । करीब १२ रोपनी क्षेत्रफलमा रहेको यस पर्यटकीयस्थलमा आन्तरिक र भारतीय पर्यटकको चाप भने हुने गरेको छ । अवलोकनका लागि टिकट दर प्रतिविद्यार्थी रु २०, नेपाली रु ४० र विदेशीलाई रु ८० र तेस्रो मुलुकका विदेशीका लागि रु १०० तोकिएको छ ।













