नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले ऐन, नियम बनाउने क्रममा दलहरु विभाजित बन्नु नहुने बताउनुभएको छ ।
आज प्रेस लैङ्गिक नीति सम्बन्धी एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले संसदमा रहेका दलहरु नीति, नियम निर्माणका बेला एक ठाउँमा उभिनुपर्ने बताउनुभएको हो ।
उहाँले आम नागरिकका समस्या समाधानका लागि नीति निर्माणको आवश्यकता रहेको भन्दै नीति, नियम बनाउने कुरामा सबै राजनीतिक दलहरुले समस्या समाधानका लागि गहन अध्ययन र अनुसन्धान गरी एकत्रित हुनुपर्नेमा जोड दिनुभयो ।
उहाँले शुरुवातबाटै नीति निर्माणका लागि सम्बन्धित निकायहरुले राजनीतिक दल र सरकारलाई आवश्यक सुझाव र परामर्श दिन आवश्यक रहेको पनि बताउनु भयो ।
उहाँले नेपालमा शुरुवाती चरणमा कुनै कुरा नराख्ने तर नीति, निर्माणको अन्तिम बेलामा आएर विभिन्न तर्कहरु अघि सार्ने प्रवृत्तिका कारण कतिपय ऐन, कानूनको संशोधन र निर्माण हुन नसकेको बताउनु भयो । महामन्त्री थापाले आधारभुत स्वतन्त्रता थप संकुचित भए समुन्नतिको मापनमा पछि पर्ने बताउनु भयो ।













