मालिस गर्नुको उद्देश्य अनुहारको छालालाई नरम, ताजा र सफा बनाउनु हो । कम्तीमा हप्तामा १ पटक अवश्य मालिन गर्नुपर्दछ । यदि तपाईं कुनै समारोहम ा गइरहनुभएको छ र अनुहारलाई उज्ज्वल बनाउन चाहनुहुन्छ भने अन्डाको सेतो भाग अनुहारमा दल्नुहोस् र सुख्खा हुन दिनुहोस् । आधा घण्टापछि अनुहारलाई मन तातो पानीले धुनुहोस् ।
अनुहारको वास्तविक सौन्दर्यका लागि आँखालाई पनि सुदृढ र आकर्षक बनाउनु पर्दछ । ब्रसका सहायताले आँखामुनि अन्डाको सेतो भाग दल्नुहोस्, जब यो सुक्दछ त्यसपछि मेकअप गर्नुहोस् । अनुहारको छालाका लागि पहेँलो माटोको प्रयोग गर्नु उपयुक्त हुन्छ । यसले अनुहारलाई सफा बनाई त्यसमा निखार ल्याउँछ । यसका लागि पहेँलो माटोलाई पिसेर कपडामा छान्नुहोस् र कच्चा दूध मिलाएर पेष्ट तयार गरी अनुहारमा लगाउनुहोस् । सुकेपछि मन तातो पानीले मुख धुनुहोस् । सलगम वा गाँजरलाई उमालेर पिस्नुहोस् र अनुहारमा लगाउनुहोस् । आधा घण्टापछि मुख धुनुहोस् यसले अनुहारलाई चम्किलो बनाउँछ । चिसोमा अक्सर छाला सुख्खा रहन्छ र पहेँलो देखिन्छ । बदाम वा जैतुनको तेल अनुहारमा लगाउनुहोस् । थोरै तातो पानी लगाएर यसलाई मोल्नुहोस् साथै कागतीको रस पनि मिलाउनुहोस् । केही समयपछि आफ्नो औँलाले अनुहारको छालालाई रगड्न प्रारम्भ गर्नुहोस् । यसले अनुहारको छालामा भएको मैला हट्दछ । गर्मीको दिनमा हल्का ब्लिचिङ लोसनको प्रयोग गर्नुहोस् । गाँजरको रस अनुहारमा लगाएर सफा तौलियाले मुख पुछ्नुहोस् । अब काँचो सखरखण्डको रस अनुहारमा लगाउनुहोस् । १० मिनेटपछि कपासका सहायताले कागतीको रस अनुहारमा लगाउनुहोस् । १५ मिनेटपछि ताजा क्रिम अनुहारमा लगाई यसलाई मिचेर अनुहारलाई सफा गर्नुहोस् । अन्त्यमा चिसो पानीले मुख धुनुहोस् । तपाईंको अनुहार उज्ज्वल हुनेछ । मनले चाहे अनुसार मेकअप गर्नुहोस् ।
साभारः ‘नारी सौन्दर्य विज्ञान’ पुस्तकबाट













