श्वासमा स्मृति दिन समर्थ हुनासाथ वैराग्य आउँछ । यसो गर्न पाए हुन्थ्यो भन्ने विचार उठ्न थाल्यो भने स्मृति भट्किन थालेको छ भनेर जान्नुपर्दछ, अनि वैराग्यको ठाउँमा प्रपञ्चको विस्तार हुँदै जान्छ । ईश्वरभक्ति अरू गुरुसेवाका नाममा जो प्रपञ्च गरिन्छ । त्यो पनि यौटा बन्धन हो । ईश्वर हृदयमा छन् । गुरुले ज्ञान दिन्छन् । त्यसमा श्रद्धापूर्वक अर्पण पर्याप्त छ ।
ईश्वर भक्तिमा रहनु, गुरु सेवामा रहनु स्वयं अपार आनन्द हो । त्यो गरेर केही अरू कुरा चाहिरहेका छौँ भने त्यो व्यवसाय हो । त्यहाँ हानिलाभ, सुखदुःख भइरहनेछ ।
परमात्माका तत्वहरू परमात्मा नभई पाइँदैन । परमात्मा हुनुको अर्थ हो अदृश्य रहनु, अपरिचित रहनु, मरेर रहनु, हराएर रहनु, न मान लिनु, न अपमान लिनु, वश निरालम्ब रहनु ।
साभारः ‘विचारप्रवाह’ पुस्तकबाट













