काठमाडौं । समानुपातिक सांसदको सूची बनाउने क्रममा व्यक्तीवाद हावी भएको भन्दै रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीभित्र लफडा शुरु भएको छ ।
निर्वाचन आयोगमा बुझाइएको समानुपातिक सूची कार्यान्वयन गर्न पार्टीका महामन्त्री समेत रहेका प्रवक्ता मुकुल ढकालले रोकेको भन्दै आलोचना शुरु भएको हो । केन्द्रीय सदस्य गणेश कार्कीले पार्टीभित्रको विवादकै कारण आफु सांसद बन्ने सूचीबाट बाहिरिनुपरेको दाबी गरेका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्,‘ जति प्रयास गरे पनि थिति बसाउन सकिएन । म अन्तिमसम्म थिति, बिधि भन्दै आवाज उठाइरहेँ । यत्रा मानिसहरुले आशा गरेको पार्टीलाई दुरुपयोग गर्नबाट रोक्न सकिन । मेरो भागमा पर्ने कमजोरी स्विकार्दै माफी चाहन्छु ।’
स्वतन्त्र पार्टीले निर्वाचन आयोगमा बुझाएको समानुपातिक सांसदहरुको सूचीमा ग्यालेक्सी टेलिभिजनमा रवि लामिछानेसँग कार्यरत एक महिलाको नाम समेत समावेश गरेको बताइएको छ ।













