भरतपुर। चितवनको एकमात्र गाउँपालिका इच्छाकामना गाउँपालिका–६ मा रहेको जलबिरे झरनामा गर्मी छल्न आउने आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको छ ।
प्राकृतिक झरनाको चिसो पानी, झरनाबाट उछिट्टिएर निस्किने पानीका मसिना छिटा र मनोरम हरियाली वातावरण भएकाले तराईको गर्मी छल्न आन्त्रिक पर्यटक यहाँ आउने गरेका छन् ।
यतिबेला तराईका जिल्लामा अत्यधिक गर्मी बढिरहेको छ । चितवनको तापक्रम पनि शनिबार ३९ डिग्रीसम्म पुग्यो । गर्मीले आत्तिएका तराईका मानिसलाई केही समय भए पनि गर्मी छल्ने माध्यम बनेको छ चितवनको जलबिरे झरना । युवयुवती झरनामा रमाउन, तस्बिर तथा भिडियो लिँदै मनोरञ्जन लिन यहाँ पुग्ने गरेका स्थानीय बताउँछन् ।
भीर, पहरा र छहराको संयोग, प्राकृतिकरुपले भरिपूर्ण जलबिरे झरना यहाँको उत्कृष्ट पर्यटकीय गन्तव्य बनेको इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले बताए । पर्यटकहरु यहाँ झरना हेर्न, झरनामा पौडी खेल्न तथा गर्मी छल्न यहाँ आउने गरेका उनको भनाइ छ ।
“प्राकृतिक झरनाको चिसो पानी, झरनाबाट उछिट्टिएर निस्किने पानीका मसिना छिटा र मनोरम हरियाली वातावरणले तराईको हपहपी गर्मी भुलाइदिने गरेको छ”, अध्यक्ष गुरुङले भने, “गर्मीले उकुसमुकुस भएका पर्यटक यहाँ आउँदा सबै बिर्सिन्छन् ।”
गाउँपालिकाले यस वर्ष जलबिरे झरनामा सेल्फी जोन निर्माण, रङ्गरोगन, सिँढी मर्मतलगायत पूर्वाधार निर्माण गरिरहेको अध्यक्ष गुरुङले जानकारी दिए । “झरनाको प्राकृतिक संरचना नबिग्रने गरी काम गरिएको छ । गाउँपालिकाले आगामी आर्थिक वर्षमा यस क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गर्दैछ”, उनले भने ।
अध्यक्ष गुरुङका अनुसार झरनामा आउने पर्यटकबाट लिने शुल्कबाट गाउँपालिकाले चालु आवको हालसम्म १७ लाख आम्दानी गरिसकेको छ । यहाँ प्रवेश शुल्क ५० लिने गरिएको छ । उनले झरनामा प्रदेश र सङ्घ सरकारको सहकार्यमा केही भौतिक संरचना निर्माण गरिएको जानकारी दिए ।
नारायणगढ–मुग्लिन सडकअन्तर्गत पर्ने जलबिरेको १०२ मिटरभन्दा लामो यो झरना नारायणगढबाट मुग्लिनतर्फ २७ किमी र मुग्लिनबाट नारायणगढतर्फ सात किमीको दूरीमा पर्दछ । सडकबाट एक किमी उकालो बाटो हिँडेपछि झरनामा पुग्न सकिन्छ ।













