प्रधानमन्त्री शेरबहादुर देउवाले भ्रष्टाचार नियन्त्रण चुनौतीपूर्ण बन्दै गएको बताउनुभएको छ ।
भ्रष्टाचारबिरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा आज अख्तियार दुरूपयोग अनुसन्धानले गरेको कार्यक्रममा उहाँले भ्रष्टाचारका बहुआयामिक स्वरूप, कारण र प्रभाव हुने भन्दै भ्रष्टाचारको नियन्त्रण दिनानुदिन चुनौतीपूर्ण बन्दै गइरहेको बताउनुभएको हो ।
उहाँले भ्रष्टाचार बिरुद्धको अभियानमा राज्यका सबै संयन्त्र, अदालत, नागरिक समाज र सञ्चार क्षेत्रलगायतको भुमिका र सक्रियता आवश्यक रहेको बताउनु भयो ।
प्रधानमन्त्री देउवाले भ्रष्टाचार नियन्त्रणलाई सबैको समन्वयमा अघि बढाउँदै जनमुखी सेवा प्रवाह गर्न जरुरी रहेको बताउनु भयो । समाजको कलंकको रूपमा रहेको भ्रष्टाचारलाई नियन्त्रण गर्न, भ्रष्टाचारजन्य गतिविधिबाट टाढा रहन र भ्रष्टाचारजन्य कार्यकाबिरुद्ध आवाज मुखरित गरी सदाचार कायम गर्न आवश्यक भएको पनि बताउनु भयो ।
भ्रष्टाचार नियन्त्रणको अन्तर्राष्ट्रिय दायित्वप्रति नेपाल सरकार पूर्ण प्रतिबद्ध रहेको बताउँदै उहाँले भ्रष्टाचारविरुद्धको महासन्धिको कार्यान्वयन गर्न तीन वटै तहबाट राष्ट्रिय कार्ययोजना कार्यान्वयन भइरहेको बताउनु भयो ।
प्रधानमन्त्री देउवाले भ्रष्टाचार नियन्त्रणमा आगामी दिनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग थप क्रियाशिल रहने विश्वास व्यक्त गर्नुभयो । उहाँले भ्रष्टाचारमुक्त समुन्नत राष्ट्र निर्माणमा सबैजना प्रतिवद्ध भइ अघि बढ्न आग्रह गर्नुभयो । भ्रष्टाचारबिरुद्धको संयुक्त राष्ट्रसंघीय महासन्धि पारित भएको डिसेम्बर ९ तारिखका दिनलाई हरेक वर्ष विश्वभर नै विभिन्न कार्यक्रमको आयोजना गरी भ्रष्टाचारबिरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाउने गरिन्छ ।













