निर्वाचन आयोगले समानुपातिकबाट सांसद बन्नेहरुको नाम उपलब्ध गराउन दिएको समय सीमा नजिकिंदै गर्दा राजनीतिक दलहरु समानुपातिक सांसदहरुको नाम तोक्ने चटारोमा छन् ।
समानुपातिक सांसदहरुको नाम टुंग्याउन नेकपा एमालेले आज सचिवालय बैठक बोलाएको हो । ललितपुरस्थित पार्टी मुख्यालयमा बस्ने बैठकले पार्टीले प्रतिनिधि सभामा पाउने ३४ समानुपातिक सांसदको नाम तोक्ने बुझिएको छ ।
एमालेले समानुपातिकतर्फ सवैभन्दा बढी मत पाएको छ । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले शनिबार कार्य सम्पादन समितिको बैठक बोलाएको छ । राप्रपाले प्रतिनिधि सभामा ७ र विभिन्न प्रदेशहरुमा १७ जना समानुपातिक सांसद पाउने भएको छ ।
कार्य सम्पादन समितिको बेठकबाट सांसद बन्नेहरुको नाम टुंगो लगाइने राप्रपाले जनाएको छ । निर्वाचन आयोगले बुधबार राजनीतिक दलहरुलाई पत्र पठाउँदै ३ दिनभित्र बन्द सूचीमा रहेका नामबाट समावेशी सिद्धान्त अनुसार सांसद बन्नेहरुको नाम दिन भनेको थियो ।













