काठमाडौं । भूमि व्यवस्था तथा अभिलेख विभागका महानिर्देशक विदुरप्रसाद खनाललाई कार्यकक्षमै मोसो दलेर दुर्व्यवहार गरिएको छ । आज (बुधबार) दिउँसो क्रान्तिकारी युवा संघ नेपालका कार्यकर्ताले कार्यालयमै मोसो दलेर दुर्व्यवहार गरेका हुन् ।
मोहन वैद्य निकट युवा नेताहरूले बबरमहलस्थित खनालको कार्यकक्षमा प्रवेश गरी मोसो दलेका हुन् उनीहरुले खनालमाथि काम नगर्ने र सरकारी जग्गा व्यक्तिको नाममा ल्याउन मिलेमतो गर्ने गरेको आरोप लगाएका छन् । मोसो दल्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
मोसो दल्ने दुई जना पक्राउ परेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता नवराज अधिकारीले जानकारी दिएका छन् । पक्राउ पर्नेमा कटारी–६ उदयपुर घर भई काठमाडौंको लाजिम्पाट बस्ने भीमबहादुर सार्की र प्युठान घर भई कुपण्डोल बस्ने किशोर कुँवर छन् ।













