साहित्य, संगीत प्रेमी मण्डली थाइल्यान्डको संयोजन र थाई नेपाली संघ बैंकक शाखा, शिक्षा विभागको आयोजनामा ‘साहित्यिक तथा सांस्कृतिक उत्सव’ सम्पन्न भयो।
दशकौँअघि म्यान्मार हुँदै थाइल्यान्डसम्म प्रवासिएका नेपाली सन्तानहरूको एउटा जमघटले आइतबार मौलिक रचना वाचन र सांगितिक प्रस्तुति दियो।
थाइल्यान्डमा मातृभाषा पढ्दै गरेको नयाँपुस्तामा नेपाली साहित्य र संगीतको मोह देख्दा अभिभावक र मण्डलीकर्मीहरू दंग छन्।
फागु पूर्णिमाको दिन आयोजित समारोहका प्रमुख अतिथि थाइल्यान्डका लागि नेपाली राजदूत धनबहादुर ओली थिए भने विशेष अतिथिका रुपमा म्यान्माली पण्डित प्रकाशचन्द्र अर्याल, लक्ष्मण न्यौपाने र थाई नेपाली संघका केन्द्रीय अध्यक्ष लक्ष्मण केसी रहेको साहित्य, संगीत प्रेमी मण्डली थाइल्यान्डले जनाएको छ।
‘साहित्यिक तथा सांस्कृतिक उत्सव’मा थाई नेपाली संघका पदाधिकारी, विभागीय सदस्य, विभिन्न संघसंस्थाका प्रतिनिधि, व्यापारी, समाजसेवी, दानबीर, साहित्य तथा संगीतप्रेमी र खासगरी विद्यार्थीहरूको उपस्थिति रहेको थियो।












