हिन्दु धार्मिक र सांस्कृतिक परम्पराहरुमा तिलको ठूलो महत्व रहेको छ । अझ भन्नुपर्दा हिन्दूधर्म संस्कारअनुसार गरिने हरेक क्रियाकलापहरुमा तिल नभइनहुने वस्तु हो । त्यसैगरी तिललाई मसलाको रुपमा पनि प्रयोग गरिन्छ । तिल लाभदायक खाद्यपदार्थ हुनुका साथै औषधिका रुपमा यसको प्रयोग गर्न सकिने देखिन्छ ।
आजभोलि तिललाई उच्च रक्तचाप तथा कोलेस्टेरोल घटाउन र एन्टिअक्सिडेन्टका रुपमा समेत प्रयोग गर्न थालिएको छ । तिलमा ५५ प्रतिशत तेल र २० प्रतिशत प्रोटिन पाइन्छन् । तिलको तेल लिनोलेइक र ओलिक एसिडको प्रमुख स्रोत हो । तिलको बियाँमा २.५ प्रतिशसम्म लिग्नन (सेसमिन, सेममोलिन) भनिने सक्रिय केमिकल पनि पाइन्छ । यस्तो लिग्नन स्वास्थ्यका लागि धेरै फाइदादायक हुन्छ ।
नियमित रुपमा कालो तिल खाँदा उच्च रक्तचाप घट्ने भिटामिन ई को मात्रा बढ्ने अनुसन्धानहरुले देखाएका छन् । तिल सेवन गर्दा रगतमा रहेका खराब चिल्लो पदार्थ (कोलेस्टेरोल लगायत) घट्छन् ।











