सोमकुमार सुब्बा
भित्तोमा टाँगिएको तस्बिरलाई पुष्पहार पहिराँउदै गरेका वृद्धलाई एक बालकले सोधे—
“यिनी को हुन् गुरुजी ?”
“यिनी यस आश्रमकी स्थापक हुन् ।”
“अनि हजुर चाहिँ ?”
“म त मात्र सेवक ।”
“हामीजस्ता अनाथहरुको उद्धार गर्ने यी महान् व्यक्तिको बारेमा भन्नोस् न गुरुजी !”
“कुनै दिन भनौंला ।” गुरुले टार्न खोजे । बालकले जिद्दी छाडेनन् । अन्त्यमा गुरुले लामो श्वास छाड्दै भने—
“म जवान छँदा, बाआमाले बिहे गरिदिने ढिपी गरे । मैले प्रतिवाद गरेँ । उनीहरुले कम्मर कसे ।
“किन प्रतिवाद गुरुजी ?” बालकले जिज्ञासा राख्यो ।
“किन कि म नपुंसक रहेछु ।”
केहीक्षण वातावरण चकमन्द भयो । दुवैले एकाअर्काको मुख हेरे ।
बालकले उत्साहित लबजमा पुनः सोधे– “त्यसपछि के भो गुरुजी ?”
“मैले कृत्रिम बच्चा (टेस्ट ट्युब बेबी) अप्नाउने आँटले बिहे गरेँ । वर्षदिन बित्यो, दुई वर्ष बित्यो अझै बित्दै गयो तर हामीबाट जायजन्म भएन । गाउँलेहरुले उनलाई अपुताली, बाँझी, बोक्सी भन्न थाले । उनी एकान्तमा रुन्थिन तर मलाई कहिले दोष दिइनन् ।
मलाई असह्य भयो । मैले उनलाई ट्युब बेबीको प्रस्ताव राखेँ । उनले सोझै खारिज गरिन् । परपुरुषसँग सम्बन्ध राख्ने परामर्श दिँए, झापड कसिन् । मैले छोडपत्र माँगे, उनले खण्डन गरिन् । अन्त्यमा मैले निरुत्साहित हुँदै भनेँ—
“अब एकमात्र बाटो छ आत्महत्या !”
त्यसताका उनले मलाई मनोबल दिँदै भनिन्—
“हामी अनाथ बच्चाहरुलाई आश्रय दिएर सन्तान बनाउँ !”











