प्रत्यक्ष विघ्नकारक समस्या नआइकन वार्ता विवाद, मानअपमानलाई विषयवस्तु बनाउनु, साना–साना कुरामा चित्त बिगार्नु त कमजोरी हो, समस्या छैन । सामान्य मनुष्यले कति समस्या र कष्टमा बाँच्न सिकेको हुन्छ, त्यस अवस्थामा एक बुद्धिमान् मान्छेको स्तर धेरै माथिको र पारदर्शी हुनुपर्छ ।
सन्तमन एवं प्रेमीको हृदय लिएर बाँच । मस्तिष्क साफ तथा विचार स्पष्ट हुनुपर्छ । श्वासमा स्मृति राख्नु सर्वोत्तम ज्ञान ध्यान एवं योग हो, मौन रहनु तपस्या हो । सन्तोष सुख हो । धैर्य सर्वश्रेष्ठ कवच हो । प्रज्ञा अनन्य मित्र हो ।
मृत्यु शब्दको निहितार्थ राम्ररी बुझेपछि जीवन सही रूपमा प्रकट हुन्छ । यस क्षण प्राण चलिरहेको छ तर कुनै पनि वेला प्राण शरीर छोडेर जानसक्छ । यो सत्यलाई स्मृतिमा राख्न सके प्रज्ञाको उदय हुन्छ ।
साभारः ‘विचारप्रवाह’ पुस्तकबाट













