‘थोरै खाए बल, धेरै खाए मल’ भन्ने पुरानो भनाइलाई वैज्ञानिक अध्ययनहरुले पनि प्रमाणित गरेका छन् । थोरै खाने व्यक्तिमा रोगविरुद्ध लड्ने क्षमता धेरै खानेको तुलनामा बढी हुने कुरा पनि अध्ययनहरुले पुष्टि गरेका छन् ।
गलगिद्ध हुने गरी अधिक मात्रामा भोजन गर्नुभन्दा एन्टिअक्सिडेन्टयुक्त र कम क्यालोरियुक्त तर सन्तुलित खाना खाने गर्नाले त्यसबाट टेलोमेरेज नामक विशेष प्रकारको प्रोटिन इन्जाइम सक्रिय हुन थाल्दछ । उक्त इन्जाइमको व्यवस्थित र क्रियाकलापले व्यक्तिको आयु बढाउन समेत सहयोग पु-याउँछ ।
शरीर बूढो हुँदै जाने क्रममा टेलोमेयर्सको आकार सानो हुँदै जान्छ तर खानपानमा ध्यान दिने हो भने टेलोमेरेज इन्जाइमद्वारा टेलोमेयर्स क्यापलाई पुनः निर्माण गर्न सकिन्छ । यसकै आधारमा अध्ययनले के देखायो भने टेलोमेरेजको मात्रा बढ्नाले बुढेसकालमा पनि मांसपेशीहरु बलिया भएको पाइयो भने छाला र पेट पनि स्वस्थ हुने देखियो ।













