सोम कुमार सुब्बा
“के गर्दैछौ राधा ?” सोध्दै छिमेकी बाटुली स्वाट्ट भित्रिन् ।
घर पुछ्दै गरेकी राधाले प्रश्नोत्तर दिन नपाइ उनी उत्साहित हुँदै पुनः बोलिन्—
“आहा ! नयाँ टिभी, नयाँ फ्रिज, लटरी फँसाइस् कि कसो ?”
“लटरी त तिमी नै भयौ नि राधा !” राधाले मुस्कुराँउदै भनिन् ।
“म ? म कसरी लटरी भएँ ?
“तिमीले दिएकी औषधी खुँवाएपछि त उनले च्याट्ट जाँडरक्सी छोडे नि ! अब त खुरुखुरु ड्युटी जानुहुन्छ, तनखा चोखो बाँच्छ !” राधाले प्रष्टाइन् ।
“लु अचम्म भो ! जाँडरक्सी बिना बाँच्न नसक्ने मान्छेले च्याट्ट छोडेछ, धत् त्यसरी नै एकदिन तिमीलाई पनि छोड्ला है राधा, याद राखेछ ।” भन्दै उनी गइन् ।
राधाले झट्ट सम्झिन् –
“सँधै जाँडरक्सी खाँदा त मसँग हाँस्थ्यो, बोल्थ्यो, नाँच्थ्यो, गाउँथ्यो, आजकल त बोल्दा पनि बोल्दैनन् । पक्कै पनि दालमेँ कुछ काला है !”
तत्क्षणै उनका पति ड्युटीबाट आए । पिँडीमा बसेर जुत्ता खोल्न लागे । राधाले उनलाई पानीको गिलास थमाँइदिँदै भनिन्—
“कोइ कोइ बेला त यसो दवाईको रूपमा पिउँदा हुन्छ नि !”











