बागलुङ – बागलुङको गलकोट नगरपालिका–११ स्थित उदय रिघा बुद्ध विहारलाई व्यवस्थित गर्न थालिएको छ। झण्डै १२ वर्षअघि निर्माण शुरु गरिएको उक्त बुद्ध विहार गत वैशाखमा सम्पन्न भएको हो।
सीमित स्रोतसाधनबाट निर्मित बुद्ध विहारलाई व्यवस्थित गरी पर्यटन प्रवर्द्धनका लागि यस वर्ष व्यवस्थित गर्न थालिएको छ।
गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा विनियोजन गरेको १५ लाख रुपैयाँमा रिघा बुद्ध विहारको तला थप्नेसँगै प्रतीक्षालय निर्माण र बगैँचा बनाउन लागेको छ। आकर्षक शैलीमा निर्माण गरिएको बुद्ध विहारका कारण आन्तरिक तथा बाह्य पर्यटक आकर्षित हुन थालेका छन्।
राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गनजिकै रहेको हुँदा धेरै पर्यटक यहाँ पुग्न थालेका छन्। बुद्ध विहार स्थानीयको जनश्रमदानसहित करिब १ करोड रुपैयाँको लागतमा निर्माण भएको हो।
यसलाई व्यवस्थापन गर्न प्रदेश सरकारले बजेट विनियोजन गरेपछि थप आकर्षक र व्यवस्थित बनाउन थालिएको गलकोट–११ का अध्यक्ष डम्मर श्रीसले बताए।
करिब १५ रोपनी क्षेत्रफलमा फैलिएको सो विहारलाई आर्थिक अभावका कारण सोचेअनुसार बनाउन नसकेको उनको भनाइ छ।
विहार क्षेत्रमा पर्यटकको सुविधाका लागि प्रतीक्षालय, खानेपानी व्यवस्थापन बगैँचा, पदमार्ग, पोखरी निर्माण गर्ने, वनभोज स्थल निर्माण गर्ने योजना छ।
यस वर्ष बुद्ध विहारको तला व्यवस्थापनसँग त्यस वरपर व्यवस्थित बगैँचा बनाउने र प्रतीक्षालय निर्माण गर्नेगरी योजनाको काम अगाडि बढेको अध्यक्ष श्रीस बताउँछन्।
‘बजेट अभावले १२ वर्षपछि मात्रै बुद्ध विहार निर्माण गर्न सकिएको हो,’ उनले भने।
नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले बुद्ध विहारका लागि नगरपालिकाले वर्षेनि बजेट विनियोजन गर्दै आएको बताए। यस क्षेत्रलाई नगरपालिकाले प्राथमिकतामा राखेर विकास गर्न थालेको उनको भनाइ छ।
बुद्ध विहार गलकोटको महत्वपूर्ण पर्यटकीय क्षेत्र रहेको उल्लेख गर्दै प्रवक्ता भण्डारी अन्य संरचना निर्माणमा जोड दिइएको बताउँछन्।













