पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ का पदक विजेता खेलाडीलाई सम्मान गरिने भएको छ । प्रदेश खेलकुद परिषद् गण्डकीले यस प्रदेशबाट विजेता बनेका खेलाडीलाई यही मंसिर १८ गते एक कार्यक्रमकाबीच सम्मान गर्न लागेको हो । प्रदेश खेलकुद परिषद्का सदस्य सचिव घनश्याम पौडेलले खेलाडीसंगै, खेल प्रशिक्षक, व्यवस्थापक र खेलकुदका संघसंस्थालाई नगदसहित सम्मान गर्न लागिएको जानकारी दिनुभयो ।
गत असोज २८ देखि कात्तिक ३ गते सम्म गण्डकी प्रदेशमा सञ्चालन भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकीले ३२ स्वर्ण, ३१ रजत र ५८ कास्य पदक हासिल गरेको थियो । ३९ वर्ष पछि गण्डकीमा आयोजना भएको राष्ट्रिय खेलकुदमा ऐतिहासिक सफलता प्राप्त गरेको भन्दै खेलाडीसंगै, खेल प्रशिक्षक, व्यवस्थापक र खेलका विभिन्न संघसंस्थालाई सम्मान गर्न लागिएको जानकारी सदस्य सचिव पौडेलले दिनुभयो ।
गण्डकीबाट १२ खेलमा ३२ स्वर्ण प्राप्त गर्ने ७२ जना खेलाडी, १४ खेलका ३१ रजत प्राप्त गर्ने ९२ खेलाडी र २५ खेलबाट ५८ रजत पदक प्राप्त गर्ने १६१ जना गरी कुल ३२५ खेलाडीलाई सम्मान गर्न लागिएको हो । त्यसै गरी पदक विजेता प्रशिक्षक ४६ र व्यवस्थापक ३५ जना गरी ८१ जनासंगै २८ खेल सम्बन्ध िसंघहरु समेत सम्मानित गर्न लागिएको जानकारी परिषदका कार्यकारी सदस्य दीलबहादुर गुरुङले दिनुभयो ।
नवौं राष्ट्रिय खेलकुदमा गण्डकी प्रदेशबाट रेकर्ड व्रेक गर्ने आर्चरी खेलका जागृत गुरुङलाई विशेष सम्मान गरिने छ । जागृतले आफ्नै नाममा रहेको कम्पाउण्डतर्फको इभेन्टमा सातौं राष्ट्रिय खेलकुदको राष्ट्रिय रेकर्ड व्रेक गर्नुभएको थियो । सातौंमा उहाँले ६८९ अंक प्राप्त गरी रेकर्ड राख्नुभएको थियो भने नवौंमा उक्त रेकर्ड तोड्दै ६९८ अंक हासिल गर्नुभएको थियो । यससंगै उहाँले सिंगल्स र टिमतर्फ स्वर्ण र मिक्सतर्फ रजत पदक जित्नु भएको थियो ।
परिषदले आर्थिक वर्ष २०७९/०८०का लागि विनियोजित बजेट ४० लाखले खेलाडीहरुलाई सम्मान गर्न लागिएको परिषदका कार्यालय प्रमुख टोपलाल भुसालले जानकारी दिनुभयो ।













