प्रा.डा. प्राज्ञ खेमराज खनाल
मन्त्रीजी पजेरो गुडाउँदै आए । बहुला खाली खुट्टा कुद्दै थियो । पजेरो सभानेर घ्याच्च रोकियो । बहुलालाई ढुङ्गामा ठेस लाग्यो । मन्त्रीजी भाषण गर्न थाले, “आदरणीय जनसमुदाय !” बहुला चिच्यायो— “अए, गरिपमारा पी खुन मेरो ।” मन्त्रीजी भन्दै गए— “हाम्रो देशमा लोकतन्त्र र मानव अधिकार छ ।” बहुलालाई केही फटाहाहरू लखेट्तै थिए । मन्त्रीजीले अगाडि भने— “गाउँगाउँमा स्वास्थ्य सेवा पुर्याइएको छ ।” बहुला फलाक्तै थियो— “ओखती नपाएर जहान, छोराछोरी मरे ।” मन्त्रीजी भन्दै थिए— “गरिबी उन्मूलनका लागि प्याकेज कार्यक्रम ल्याएका छौँ ।” बहुलाले अगाडि भन्यो— “घरघडेरी बैङ्कले लिलाम गर्यो ।” मन्त्रीजीले उर्दी गरे— “शान्तिसुरक्षा कायम गरिसकिएको छ ।” बहुला भक्कानियो— “भएको श्रीसम्पत्ति चोरी भयो ।” मन्त्रीजी मख्ख परे, घ्याम्पे भुँडी हल्लाएर हाँस्न थाले । बहुला सिथिल भयो, रित्तो पेट समातेर रुन थाल्यो । भाषणपछि गडगड ताली बज्यो । रोइरहेको बहुलामाथि ढुङ्गामुढा बर्सिन थाले ।
(भोट, भोटो र भुक्तमानबाट)
साभारः लघुकथा कुनोबाट











