महान् देखिन चाहनु मूर्खता हो । धन, भवन, जनसमूहको वृद्धि चाहनु दरिद्रता हो । अकिञ्चन विनम्रताका साथ परमशून्यमा रहनु महानता हो । अपरिचित, निर्मम, अपरिग्रही रहनु परम गौरव हो । धनद्वारा, भीडद्वारा इन्द्रियद्वारा केही न चाहनु स्वतन्त्रता हो । ईश्वरद्वारा शास्त्रद्वारा धर्मका नामद्वारा जो शोषण हुँदै छ त्यो न गर्नु त्यसको स्वीकृति पनि नराख्नु परम प्रज्ञाको जीवन हो । साधनारहित जीवनले अन्तमा निराशा र चिन्ताबाहेक केही उपलब्धि दिँदैन ।
सङ्ग्रह नगर्नु सर्वोत्तम दान हो । आसक्त नहुनु सर्वोत्तम स्वतन्त्रता हो । स्वीकार वा इन्कार नगरी सहज सरल जीवनमा रहनु सर्वोत्तम प्रज्ञा हो । नाम दिने को ? मान्नेवाला को ? ज्ञानमा भेद छैन, अज्ञानमा दृष्टि छैन, दुवैको कहीँ पनि– कहिल्यै पनि भेट छैन । सर्वज्ञता, सर्वशक्तिमत्ता, सर्वव्यापकताको कहिल्यै सिद्धि सम्भव छैन । जो हुनु छ, जस्तो हुनु छ, त्यसैका लागि भूमिका भइरहेको हुन्छ ।
मनमा स्थिरता, धीरता एवं परोपकारको भावना राखेर सबै कर्तव्य गर्नुपर्छ । अभिमानका सबै संस्कारबाट स्वतन्त्रता आएपछि मात्रै आन्तरिक शान्ति आउँछ । थोरै कष्ट सहनुपर्छ । धेरै सरलताको सुविधाको आशा गर्नु आपूmलाई धोखा दिनु हो ।
साभारः ‘विचारप्रवाह’ पुस्तकबाट











