मुम्बई। बक्स अफिसमा उत्कृष्ट प्रदर्शन गर्दै विश्वभर ९१५ करोडभन्दा बढी कमाइ गरेपछि ‘एनिमल’को दोस्रो भाग पनि चाँडै आउँदैछ ।
सन्दीप रेड्डी वांगाको यो फिल्ममा रणवीर कपूर मुख्य भूमिकामा थिए । यो फिल्मको स्ट्रिमिङ जनवरी २६ बाट नेटफ्लिक्समा सुरु भइसकेको छ ।
फ्यानहरु यो फिल्मको सिक्वेलको प्रतिक्षामा छन् । यस फिल्मको सिक्वेल शीर्षक एनिमल पार्क रहेको बताइएको छ । यस प्रोजेक्टको बारेमा रणवीर आफैंले केही रोचक अपडेट सेयर गरेका छन् ।
नेटफ्लिक्स इन्डियाका लागि स्ट्यान्ड अप कमेडियन अनुभव सिंह बस्सीसँगको कुराकानीमा रणवीरले एनिमलको निर्माणको क्रममा पनि धेरैलाई कथाबारे पूर्ण जानकारी नभएको खुलासा गरेका छन् ।
रणवीरले भने, ‘बबी देओल सरलाई कथाको बारेमा कुनै जानकारी थिएन । अनिल कपुर सरलाई बाबु छोराको कथा थाहा थियो । तर त्यहाँ धेरै पक्षहरू थिए जहाँ सन्दीप आफ्नो स्क्रिप्टको बारेमा धेरै गोप्य राखेका थिए । उनीसँग एउटा पार्कको बारेमा दुई दृश्यहरू तयार छन्, जुन उनले मलाई सुनाएका थिए र उनी धेरै उत्साहित छन्।’
‘अब भाग एकको सफलताको कारण उनीहरूमा गहिरो, गाढा र थप जटिल हुने आत्मविश्वास छ,’ उनले भने । सोही कुराकानीका क्रममा रणवीर कपुरले पनि फिल्मले नकारात्मक प्रतिक्रिया पाए पनि यसले समाजमा ‘स्वस्थ’ कुराकानीको जन्म गराएको बताएका छन ।
रणवीरले भने, ‘विषाक्त पुरुषत्वको बारेमा पनि एकदमै स्वस्थ कुराकानी सुरु भएको छ, जुन राम्रो कुरा हो किनभने सिनेमाले कम्तिमा पनि यो वार्तालाप सुरु गरिरहेको छ । यदि केही गलत छ भने त्यो गलत हो भनेर देखाउनु हुन्न । र, कुराकानी सुरु नभएसम्म समाजमा हामीले यो कहिल्यै महसुस गर्दैनौं ।’
उनले भने, ‘त्यसैले हामीले खेलेका भूमिका पात्र हुन् । यो धेरै महत्त्वपूर्ण छ कि अभिनेताको रूपमा हामीले उनीहरूप्रति सहानुभूति राख्छौं किनभने हामीले यो चरित्र खेल्नुपर्छ । एक दर्शकको रूपमा तपाईंले के गलत हो निर्णय गर्नुपर्छ । तपाईंले गलत व्यक्तिमाथि फिल्म बनाउन सक्नुहुन्छ र गर्नुपर्छ किनभने यिनीहरू माथि चलचित्र नबनाएमा समाज कहिल्यै सुध्रने छैन ।’













