रामप्रसाद पन्त
लोग्नेलाई कतार पठाउँदा अत्यन्त भावविभोर बनेकी धनमाया पैसा आइरहँदा भने दङ्ग थिई । शहरमा एउटा घरको कोठा भाडामा लिएर सुविधासँग बसी । छोराछोरीलाई बोर्डिङ पढाउन उसलाई कठिनाइ परेको थिएन ।
‘छोराछोरीको राम्रो रेखदेख गर्नू, अरू दुःखजिलो केही नगर्नू, खर्च आवश्यक परेमा फोन गर्नू’ भन्ने लोग्ने पाउनु धनमायाका लागि अहोभाग्य थियो ।
दुई वर्षपछि दसैँमा घर आउँछु भन्दा धनमायाले दलबहादुरलाई रोकी— ‘यसैउसै दुःख गर्न गइसकेपछि अरू दुई वर्ष खटिएर काम गर, तबसम्म एउटा घडेरी पनि किनम्ला र सानै भए पनि एउटा आफ्नै बास बनाएर बसम्ला ।’
कति दूरदर्शी श्रीमती ! दलबहादुर दङ्ग प¥यो र उसले सबै सुखसुविधा त्यागेर काममा जोतिइरह्यो । बिदेसिएको तीन वर्ष पुग्न पाउँदा नपाउँदै धनमायाले तारन्तार फोन गर्न थाली — ‘नविनाका बाउ ! तुरुन्त आऊ । मलाई पनि कहिले देखुँजस्तो भयो, केटाकेटी पनि निकै आस्सिए, बरु पछि जाउला ।’
कति मायालु श्रीमती ! कती मायालु छोराछोरी ! श्रीमतीले यति भन्दाभन्दै पैसाकै लागि मरिहत्ते गरेर बस्न भयो र ? दलबहादुरले अविलम्ब बिदा मिलायो । श्रीमती र छोराछोरीका लागि सामान किन्यो, हवाइटिकट काट्यो र उड्यो स्वदेश ।
तर अचम्म ! त्रिभुवन विमानस्थलबाट बाहिर निस्कँदा उसले श्रीमतीलाई देखेन । फोन ग¥यो, फोन सम्पर्क पनि हुन सकेन । ऊ ट्याक्सी चढेर सरासर डेरामा पुग्यो । डेरामा दुइटा बच्चा रुल्लटुल्ल बसिरहेका थिए ।
दलबहादुरले छोराछोरीलाई मुसा¥यो, म्वाई खायो र मम्मीका बारेमा सोध्यो । बेलुका आउँछु भन्दै एउटा सुटकेश लिएर ट्याक्सी चढेर निस्केकी धनमाया अँध्यारो हुँदासम्म पनि निवासमा नआएपछि भने कताकता दलबहादुरको मनमा चिसो पस्यो ।
दलबहादुरले छिमेकीलाई सोध्यो, घरबेटीलाई सोध्यो । कुरा सुन्दै जाँदा उसका आँखा तिर्मिराए, मस्तिष्क चक्करायो, उसलाई औडाहा भयो, चिरचिरी पसिना आए । ऊ छाँगाबाट खसेजस्तो भयो र थचक्क भुइँमा बस्यो ।











