सुत्केरी भएपछि महिलाहरूले आफ्नो स्वास्थ्यका साथै शिशुको स्वास्थ्यमा पनि ध्यान दिनुपर्छ । आमाको दूधबाट बच्चाले आवश्यक सम्पूर्ण पोषकत्व पाउँछ । आमाको दूधबाट शिशुको शरीरमा एन्टीबडीको निर्माण हुन्छ । यसका कारण बच्चा एलर्जी, दम र अन्य सङ्क्रमित रोगबाट पनि सुरक्षित हुने गर्छ । तर केही महिलाको शिशुका लागि पर्याप्त दूध आउँदैन । यस्तोमा महिला आफ्नो डाइटमा परिवर्तन गरेर यो समस्यालाई कम गर्न सक्छन् —
– सुत्केरी महिलाले अमिलो फल बाहेक स्याउ, केरा, आँप, अनार, मेवा लगायत अन्य फलफूललाई आहारमा समावेश गर्दा पर्याप्त मात्रामा पोषण पाउँछन् र यसले दूध पनि बढ्ने गर्छ ।
– सुत्केरी महिलाहरूले आफ्नो दैनिक आहारमा हरियो सागपात समावेश गर्दा यसले महिलाको दूध बढाउनुको साथै अन्य भिटामिनहरु पनि प्रशस्त मात्रामा पाउँछन् ।
– नियमित रुपमा गाजरको सेवनले सुत्केरी महिलाको दूध बढाउनुका साथै दूधको गुणस्तर बढाउन मद्दत गर्छ । महिलाहरूले यसलाई सलाद वा तरकारीमा मिसाएर आहारमा समावेश गर्न सक्छन् ।
– स्तनपान गराउने महिलाले गाईको दूधबाट फोलिक एसिड, हेल्दी फ्याट र क्याल्सियम जस्ता पौष्टिक तत्व पाउँछन र नियमित गाईको दूध पिउने महिलाहरूको शरीरमा दूध बनाउने प्रक्रिया पनि छिटो हुन्छ ।
– सुत्केरी महिलाले राति एक चम्चा सौफ पानीमा भिजाएर बिहान पिउँदा महिलाको दूध बढाउन सकिन्छ । यसका साथै सौंफको नियमित सेवनले महिलामा ग्यास, पेट फुल्ने र पेट दुख्ने समस्या हुँदैन ।













