चिनियाँ ठेकेदार कम्पनिको चरम लापरवाहीका कारण बुटवल–नारायणगढ सडक विस्तारको काम ५ वर्ष हुन लाग्दा जम्मा ४४ प्रतिशत मात्र प्रगति भएको छ । ठेकेदार कम्पनी चाइना स्टेट कम्पनीले कोरोना कहर र निर्माण सामग्री अभावको बहाना बनाउँदै काममा ढिलाई गरेको हो ।
सडक विस्तारको काम ढिलो हुँदा यस क्षेत्रका स्थानीय वर्षामा हिलो र हिउँदमा धुलोले सास्ती खेप्न बाध्य छन् । २०७५ माघमा काम सुरु गरेर तीन वर्षमा निर्माण सम्पन्न हुनुपर्ने सम्झौता थियो । तर, दुई पटक म्याद थप्दासमेत ५० प्रतिशत काम हुन सकेको छैन ।
१६ अर्ब ९९ करोड रुपैयाँ लागतमा निर्माण हुन लागेको सडक २०८१ को असार मसान्तसम्म मात्र म्याद छ । यस अवधिमा ७० प्रतिशत मात्र काम सकिने ठेकेदार कम्पनीको भनाइ छ ।
सरकारले लगातार दबाब दिइरहेको भए पनि ठेकेदार कम्पनीले सम्झौता समयअनुसार काम नगरेर आफ्नो अनुकूल समय निर्धारण गरेर काम गरिरहेको छ । सोहीअनुसार तेस्रो पटक म्याद थप गर्ने ठेकेदार पक्षको तयारी छ । नारायणगण–दाउन्ने ६५ किमि र दाउन्नेरबुटवल खण्ड ४९ किमि सडक विस्तारको काम भइरहेको छ । पूर्वी र पश्चिम खण्डमा ४० प्रतिशतको हाराहारीमा मात्र काम सकिएको छ ।
पूर्वी खण्डमा भएका साना पुलको काम सकिनुका साथै १२ ठूला पुलमध्ये ११ को सब स्ट्रक्चरको काम सकिएको सडक आयोजनाको पूर्वी खण्ड हेर्ने कार्यालयका सूचना अधिकारी एवं इन्जिनियर धीरज ढकाले बताए । ‘पूर्वी खण्डमा ५० प्रतिशतको हाराहारीमा बिजुलीको पोल सार्ने काम सकिएको छ’, उनले भने, ‘बजार क्षेत्र तथा कार्यालय भएका क्षेत्रमा बिजुली सट डाउन गर्न समस्या हुने गरेकाले बिदाको दिन मात्रै बिजुलीको पोल सार्ने गर्नुपरेकाले काममा ढिलाइ भएको छ ।’
चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनले गैँडाकोटको नारायणी नदी पुलदेखि बुटवलसम्म एक सय १५ किलोमिटर सडक आयोजनालाई दुई खण्डमा विभाजन गरेर ठेक्का सम्झौता गरिएको थियो ।
सडक बस्ती क्षेत्रमा ६ लेन र जङ्गल क्षेत्रमा चार लेन तथा दाउन्ने पहाडमा तीन लेन विस्तार गर्ने गरी एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा कूल १६ अर्ब ९९ करोड ५२ लाख लागतमा राजमार्गको विस्तार सुरु गरिएको हो । सडको अवस्था बेहला हुँदा स्थानियदेखि यात्रु सम्मले नमज्जाले दुःख पाइरहेका छन् ।













