बुद्ध भन्नाले क्रान्तिकारी, वैराग्यवान् साहसी, चेतनाको बोध हुन्छ । शिव भन्नाले परम करुणा, परमविश्राम, परमशान्तिको बोध हुन्छ । शिव र बुद्ध कसका लागि ध्यानमा बसेका छन्, त्यो आफ्नो जीवन तत्व हो । त्यही सत्य हो । सत्यबाट सृजन हुन्छ । उसले सृष्टि गर्दैन ।
सानो इच्छाले बाहिरबाट बन्धन गर्छ । ठूलो इच्छाले भित्रबाट र बाहिरबाट दुवै बन्धन गर्छ । गृहस्थी संसारी सुखभोग, सुविधामा फँसेको छ । गृहत्यागी–असंसारी भित्री संसारी इज्जतमा, दिखावामा फँसेको छ । सरलता, स्वतन्त्रता र ज्ञान, यहाँ, त्यहाँ कहीँ पनि छैन ।
इच्छा मात्रले परवशता र आशामा लिएर जान्छ । शहर जाने इच्छा वा वन जाने इच्छा, धन कमाउने इच्छा वा नकमाउने इच्छा इच्छा विधि र निषेध भाव र अभावमा डुलिरहन्छ । जहाँबाट इच्छाका तरङ्ग तरङ्गित हुन्छन्, त्यो स्थलमा (परमपद, विश्रामपद मनको मूल स्वभावमा) अवलोकन नगरी इच्छाको जन्म जान्न सकिन्न । जन्मनेबित्तिकै इच्छालाई सम्झिन नसके केही क्षण पछि उसले आफ्नो आच्छादन गरिहाल्छ, यो कर्म तुरुन्त छ । यसमा फेरि भन्ने क्रम लागू हुँदैन, फेरि त ‘पुनर्मुसिको भवः’ मात्रै हुन्छ ।
साभारः ‘विचारप्रवाह’ पुस्तकबाट













