प्रहरी महानिरीक्षक बसन्त कुँवरले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडी गएपछि ललितपुरको बालकुमारीमा घटना भएको बताएका छन्।सोमबार बिहान राज्य व्यवस्था समिति बैठकमा बोल्दै उनले मन्त्री नगएको भए सायद घटना नहुने बताएका हुन्।
‘मन्त्रीको गाडी आएपछि अवस्था बिग्रेको हो। त्यो गाडी त्यहाँ नआएको भए यो घटना हुने थिएन,’ उनले भने, ‘उपत्यकामा मन्त्रीकै सुरक्षामा कमजोरी नहोस् भनेर प्रहरी अगाडि बढ्ने क्रममा घटना भएको छ। प्रहरी पुग्दासम्म त गाडी जलिसकेको अवस्था थियो।’
बिहान साढे ११ बजे तोडफोडको अवस्था भएपछि सामान्य बल प्रयोग गरेरै भिड तितरवितर भइसकेको उनले बताए। ११स्५२ बजे मन्त्री कान्तिपुर पार्टी प्यालेसबाट निस्केर बालकुमारीको ओभर बिज्र नजिकै आएर रोकिएको उनले बताए । ‘पीएसओले समस्याबारे रुट क्लियर छ कि छैन भन्ने समन्वय भएन,’ बैठकमा उनले भने, ‘भिडमा आएर गाडी रोकियो ।’
उनले गोली कतिबेला चल्यो भन्ने यकिन नभएको बताए । ‘गोली कतिबेला चल्यो यकिन भएको छैन। १२स्४० मा सुजन रावतको छातिमा चोट लागेको र किष्ट अस्पतालमा साढे १ बजे मा मृत घोषित भएको हो,’ उनले भने, ‘१२।४२ मा विरेन्द्र साह १३।३७ मा मृत घोषणा गरेको देखिएको छ ।’
कोरियाली भाषा परीक्षामा सहभागी हुन नपाएको विषयलाई लिएर भएको आन्दोलनका क्रममा प्रहरीले हस्तक्षेप गर्दा शुक्रबार ललितपुरको बालकुमारीमा दुई युवकको मृत्यु भएको थियो ।
घटनामा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको मृत्यु भएको थियो । साथै भौतिक पूर्वाधार तथा यात्रायात मन्त्री प्रकाश ज्वाला सरकारी गाडीमा आगजनी भएको थियो ।













