छविलाल खड्का
‘आमाको स्वास्थ्य निकै खराब भयो । सान मार्काेसका ठूल्ठूला डाक्टरहरुसँग देखाई सकियो । बिसको उन्नाईस भएन ।’ कामबाट भर्खरै फर्केकी श्रीमतीतिर हेर्दै लाचारीपन देखायो नृपले ।
नेपालबाट आउँदा आमाले एकदम जतनसाथ ल्याएको कुटिरोप्रति लक्षित गर्दै श्रीमती चाहिँले भनिन्— ‘ए हजुर ! त्यो कुटिरोभित्र के होला ?’
नृपले बेपर्वाह भन्यो– ‘पेवा–दाइजो त होला नि !’
अचानक उनको चेहरामा रङ्ग चढ्यो । आमाको असह्य पीडा देखेर आमाले भन्ने गरेको कुरा सम्झ्यो– ‘मर्ने बेला प्राण गएन भने एक चिम्टी माटो छातिमा राखिदिए सहजै प्राण पखेरु उड्छ ।’
नृप हतार हतार बाहिर निस्कियो, एक मुठ्ठी माटो ल्याएर आमाको छातिमा राखिदियो । आमालाई झन् छट्पटी बढ्यो । आलास–तलास गर्दै कुटिरोतिर सङ्केत गर्नुभयो । उसले त्यस कुटिरोलाई सुस्तरी छातिमा राखिदियो । आमाको मुहार उज्यालो भयो । पुलुक्क चारैतिर हेर्नुभयो अनि सधैंका लागि आँखा चिम्लिनुभयो । सन्नाटा छायो ।
उनीहरुले कौतूहलतापूर्वक कुटिरो खोले । चकित परे रहेछ आफ्नै देशबाट ल्याएको ‘माटो… !’













