अस्ट्रेलियाले हजारौं शरणार्थीलाई आवासीय अनुमति दिएको छ । अस्ट्रेलियाका अध्यागमनमन्त्री एन्ड्रयु जाइल्सले केही अस्थायी भिसा धारीका लागि स्थायी भिसाको लागि मार्ग प्रशस्तगर्ने आफ्नो चुनावी प्रतिबद्धता पूरा गर्न लागेको घोषणा गरेका छन् । जाइल्सले लेबर सरकारको चुनावी प्रतिबद्धता पूरा गर्दै सन् २०१३ भन्दा अघि डुङ्गाबाट अस्ट्रेलिया आएका करिब १९ हजार शरणार्थीलाई दुई प्रकारका अस्थायी भिसामा स्थायी बसोबासका लागि निवेदन दिन अनुमति दिइने बताएका हुन् ।
यो प्रावधानले शरणार्थीहरूलाई सामाजिक सुरक्षा, सार्वभौमिक स्वास्थ्य सेवा, राष्ट्रिय अशक्तता बीमा योजना, उच्च शिक्षा ऋणमा पहुँच प्रदान गर्दछ र नागरिकताको लागि मार्ग प्रशस्त गर्छ । यसले उनीहरूलाई अष्ट्रेलियामा तत्काल परिवार ल्याउन अनुमति दिन्छ । यस कदमको घोषणा गर्दै जाइल्सले काम गर्ने, कर तिर्ने, व्यवसाय सञ्चालन गर्ने र अष्ट्रेलियालीहरूलाई उनीहरूको भिसा स्थितिका कारण अलपत्र राख्नुको कुनै अर्थ नभएको बताए ।
यसैबीच, गृहमन्त्री क्लेयर ओनिलले सरकार जारी अपरेशनका लागि प्रतिबद्ध रहेको र डुङ्गाबाट अष्ट्रेलिया आउने जो कोहीलाई पनि अस्ट्रेलियामा बस्न नदिइने बताएका छन् । उनका अनुसार अपरेसन सोभरेन बोर्डर अन्तर्गत अष्ट्रेलियामा बसोबास गर्ने सम्भावना शून्य छ ।
सरकारको चुनावी वाचा पूरा गर्ने प्रतिबद्धताअनुसार सन २०१३ भन्दा पहिले अस्थायी सुरक्षा प्रवेशाज्ञा र सुरक्षित उद्यम प्रवेशाज्ञामा देशमा बसोबास गरेका १९ हजारभन्दा बढी शरणार्थीलाई स्थायी सुरक्षा प्रवेशाज्ञामा रुपान्तरण गरिनेछ । सरकारले स्थायी प्रवेशाज्ञा पाएकाहरूका लागि पारिवारिक पुनर्मिलनमा निम्ति कानुन सुधार गर्दै त्यसलाई सहज बनाइनेछ ।
नयाँ प्रावधानबाट एक दशकभन्दा बढी समयदेखि परिवारबाट अलग भएकाहरू लाभान्वित हुने अपेक्षा गरिएको छ भने त्यसबाट शरणार्थीहरूलाई तेस्रो देशमा पनि यात्रा गर्न सरल र सहज हुनेछ । अष्ट्रेलिया सरकारले शरणार्थीहरूलाई न्यूजिल्याण्ड, क्यानडा र संयुक्त राज्य अमेरिकामा बसोबास गराउने विकल्प खोजिरहेको छ ।













