काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले योग्यताको आधारमा त्रिभुवन विश्वविद्यालयमा उपकुलपतिको नियुक्ति गर्ने बताएका छन्।
सोमवार त्रिभुवन विश्वविद्यालयको ४९ औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले यस्तो दावी गरेका हुन्। उनले त्रिभुवन विश्वविद्यालयबाट नै राजनीतिक भागबण्डाको अन्त्य गर्ने प्रतिबद्धतासमेत जनाए।
उनले नेपालमा आधारभूत शिक्षामात्र निःशुल्क नभइ विश्वविद्यालय शिक्षा पनि सर्वसुलभ बनाउने दिशामा काम गरिरहेको बताए।
उनले आर्थिक हैसियत भएकाहरुको मात्र उच्च शिक्षामा पहुँच हुनु नहुने पनि बताए। उनले उच्च शिक्षा नीतिअनुरुप विश्वविद्यालय शिक्षामा पनि समयानुकूल सुधार गर्दै लगिएको बताए।
‘कतिपय विकसित देशमा आधारभूतमात्र निःशुल्क होइन, विश्वविद्यालय शिक्षा पनि सर्वसुलभ बनाइएको छ। आर्थिक हैसियत भएकाहरुको मात्र उच्च शिक्षामा पहुँच हुनु हुँदैन भन्ने हाम्रो स्पष्ट दृष्टिकोण छ‚’ उनले भने‚ ‘विपन्न वर्गले शिक्षा प्राप्त गर्न नसक्ने स्थिति हटाइ समतामूलक, सबै वर्ग, समुदायलाई उच्च शिक्षा सर्वसुलभ हुनुपर्छ। त्रिभुवन विश्वविद्यालयबाट नै राजनीतिक भागबण्डाको अन्त्य गर्ने र मेरिटको आधारमा भिसी नियुक्ति गर्ने प्रतिबद्धता जनाउँछु।’
प्रधानमन्त्री प्रचण्डले आफ्ना विद्यार्थीलाई विश्वबजारमा अब्बल प्रमाणित गर्नसक्ने बनाउनु त्रिविको आजको चुनौती रहेको बताए। उनले गुणस्तरीय शिक्षा आजको आवश्यकता भएको बताए।













