बूढो होस् वा कलिलो बालबालिका शारीरिक रुपले सबैलाई सक्रियताको आवश्यक पर्छ । शरीरलाई चुस्त र फुर्तिलो राख्न मात्र होइन, सम्भावित रोगबाट बच्न पनि हामी सक्रियता चाहिन्छ । शरीर सक्रिय भएमा रोग लाग्दैन । त्यसैले बिहान दौडिने, व्यायाम, योग, प्राणायाम गर्ने र दिनभर सक्रिय गर्नुपर्छ ।
बालबालिकाको शारीरिक र मानसिक विकासको लागि उनीहरुलाई शारीरिक रुपले सक्रिय राख्न आवश्यक छ । प्रत्येक अभिभावकले आफ्ना बालबालिकाको शारीरिक सक्रियतामा ख्याल राख्नुपर्छ । उनीहरुलाई खेलकुदको माध्यामबाट पनि यसमा प्रेरित गर्न सकिन्छ । व्यायाम गर्दा बालबालिकाको शरीर बलियो एवं निरोगी हुने मात्र होइन, मानसिक स्वास्थ्य पनि राम्रो हुन्छ ।
अमेरिकामा गरिएको एक अध्ययन अनुसार ६ बर्ष र त्यसभन्दा बढी उमेरका बच्चाका लागि दिनमा कम्तीका एक घण्टा शारीरिक गतिविधी आवश्यक छ । उक्त अध्ययन अनुसार बच्चाले सातामा कम्तीमा तीन पटक एरोबिक वा यस्तै किसिमको व्यायाम गर्नु जरुरी छ र बाँकी तीन दिन मांसपेशी र हड्डी बलियो बनाउने किसिमको व्यायाम गर्नुपर्छ ।
बालबालिकालाई योगमा पनि अभ्यस्त गराउन सकिन्छ । योग समूचित व्यायाम पनि हो । बालबालिकाले जुनसुकै किसिमको योग आसन अभ्यास गर्न सक्छन् । उनीहरुको शरीर लचिलो र फुर्तिलो हुने भएकाले उनीहरुलाई विभिन्न योग आसनको अभ्यास गर्न त्यती कठिनाई पनि हुँदैन । योगका साथै प्राणायाम र ध्यानमा पनि उनीहरुलाई अभ्यस्त गराउन सकिन्छ ।













