चूडामणि नेपाल ‘अकिञ्चन’
‘हिजोआज हात खुट्टा र मस्तिष्कले हिँड्न थालेको छु । सहज होला भनेको त अझ जटिलता पनि पो थपिँदा रहेछन् ।’ रामनाथले साथीलाई सुनाए ।
‘के हवाईजहाज उडाउन थालिस कि क्या हो ?’ साथी सारनाथले व्यङ्ग्य कस्यो ।
‘होइन आवश्यकताले एउटा गाडी किनेको ।’ रामनाथले जवाफ दिए ।
‘बुढेसकालमा के को रहर हो ? मर्ने बेलामा हरियो काँक्रो । अनि पैसा चाहिँ कताबाट आयो नि ? ह्वेल नै जालमा प¥यो कि कसो ?’ सारनाथको व्यङ्ग्य अझ कडा थियो । उसको कुराले मलाई भित्र कता कता चस्स घोच्यो ।
‘जागिरे हुनु पनि अपराधै रहेछ । कस्तो मानसिकता ? सबैले घुसै खान्छन् भन्ने छ । यो सोच कहिले परिवर्तन होला समाजमा ? अनि साँच्चै भ्रष्टचार गर्नेहरु कहिले निरुत्साहित होलान ? मैले दश वर्षअगाडि सञ्चय कोष रित्याएर जग्गा किनेको र आज त्यही जग्गाको मूल्यबाट गाडी किनेको कुरा सुनाउँदा पनि सारनाथले पत्याएनन् ।’
‘होस गर् है होस गर्, फस्लास्, अनि यान्त्रिकताले पनि मान्छेलाई दास बनाउँछ नि !’ यसो भनेका सारनाथले एक घण्टापछि नयाँ गाडी लिएर मेरो घर आए । मैले पनि बधाइ दिएँ ।
फर्किदा तीन आलिमा अप्ठयारोमा परेछन् । ब्रेक भनेर एक्सेलेटर थिच्न पुग्दा गाडि हुत्तिएर पर्खालमा ठोकिन पुगेछ । अहिले सारनाथ अस्पातालमा र गाडी ग्यारेजमा छ रे !
साभारः लघुकथा कुनोबाट













