काठमाडौं । नेपाली लोक संस्कृतिसँग जोडिएको छ मादलको महत्व । अझ गीत सङ्गीत पारखीका लागि मादल निकै प्रियकर हुन्छ । मादलबिना हरेक लोकगीत सङ्गीत अपुरो हुन्छन् । नेपाली समाजको सबै सांस्कृतिक कार्यहरूमा यसको प्रयोग हुन्छ । तिहार पर्व होस् या अन्य मेला महोत्सव गाउँ सहर जताततै मादल घन्किन्छन् । जब मादलको ताल बज्छ, तब हरेक मानिसको मनमा उमङ्ग भरिन्छ । पछिल्लो समय मादलको प्रयोग घट्दै गएकामा सङ्गीतका पारखी मात्र होइन, मादल बनाउने व्यवसायीहरु पनि चिन्तितमा छन् ।
यतिबेला गाउँ सहर जताततै तिहारको रौनक छ । पहिला पहिला देउसी भैलो खेल्नेले बजाएको मादलको धुन परपरसम्म सुनिने गर्दथ्यो तर आजभोलि मादल कम बज्ने गरेका छन् । तिहारमा देउसीभैलो खेल्ने टोलीहरुले एक महिना अगाडि नै मादल किनिसकेका हुन्थे । दैउसीभैलो खेल्ने सांस्कृतिक टोलीहरूले जोर मादल किन्ने गर्दथे । तर यस वर्ष भने तिहार भित्रिसके पनि मादल विक्री नहुँदा बागलुङका मादल व्यवसायीहरु चिन्तित बनेका छन् । नेपालको सांस्कृतिक बाजामध्येको मादल विशेषगरी तिहार र विभिन्न चाडपर्वको बेला बजाएर रमाइलो गर्ने नेपालीजनको पहिचान नै हो ।
विगतका वर्षहरुमा यो याममा सयौँ मादल बच्ने व्यवसायी यतिबेला घाम तारेर ग्राहक कुरेर बसिरहेका छन् । तिहारका बेला नाच्दै गाउँदै सांस्कृतिक कार्यक्रम गर्ने समूहले मादल किन्ने गरे पनि पश्चिमा संस्कृति र आधुनिक बाजागाजामा रमाउने जमात बढ्दै गएपछि मादल व्यवसाय सकटमा पर्न थालेको हो । पछिल्लो समय देउसी भैलो होस् या कुनै कार्यक्रम नयाँ युवा पुस्ताहरु मोबाइल, डेक र ठूला–ठूला स्पिकरमै रमाउँछन् । उहिलेका मादलको तालमा नाचिने नाचहरु पनि लोप भइसकेका छन् । आधुनिक, पप र रिमिक्सका नाममा युवा पुस्तामाझ मादलप्रतिको आकर्षण कम हुँदै गएको छ ।
एक दशक अगाडिको तिहारको समयमा एउटै पसलबाट पाँच सयको हाराहारीमा मादल बिक्री हुने गर्थे तर यस वर्षको तिहारमा १० वटासम्म पनि बिक्री नभएको यहाँका व्यवसायीहरुको गुनासो छ । बागलुङका विभिन्न ठाउँहरुमा वर्षौँदेखि मादल व्यवसाय गर्ने व्यापारीहरु हिजोआज निकै चिन्तित बनेका छन् । पहिले–पहिले दसैँ तिहारका समयमा गाउँ र सहरबाट मादलको माग निकै हुने गरे पनि अहिले तीन वर्ष अगाडि बनाएका मादल पनि विक्री नभएको स्थानीय पिरताम्बर दर्जी बताउँछन् ।
आधुनिक बाजागाजामा रमाउने जमात बढ्दै गएपछि मादलको व्यापार घट्नको साथै परम्परागत बाजा लोप हुन थालेको दर्जीले दुःखेसो पोखे । “पेसा धरापमा पर्दै गएको छ, रोजीरोट घुम्ने डर भयो, हातमा सीप मात्र भएर के गर्ने रु, बनाएका सामान विक्री हुँदैनन्, आधा बढी उमेर यही पेसामा बिताएँ, अब बुढेसकाल पनि लाग्यो, के काम गर्ने, मादल त बसीबसी पनि बनाउन सक्थे” उनले भने , “ कुनै बेला पसलमा मान्छेको भीड हुन्थ्यो, मागअनुसारको मादल पु¥याउन सक्दैनथे, अहिले कोही आउँदैनन्, दिनभरि पसल खोल्यो, पुराना मादललाई रङ्गरोगन गरेर नयाँ बनायो, तुना खुस्काकाको कस्ने बाहेक अरु केही उपलब्धि छैन ।”
विदेशी कला, संस्कृति र बाजाहरूलाई प्रोत्साहन गर्ने तर नेपाली मौलिक संस्कृति र बाजाहरूको उचित संरक्षण नहुँदा संस्कृति नै लोप हुँदै जान थालेको छ । बागलुङमा विभिन्न जातजातिका आफ्नै कला, संस्कृति छन् । हरेक चाडबाडका बेला उनीहरुले आफ्नो रीतिरिवाज अनुसारका गीत गाउने, बजाउने र रमाइलो गर्ने प्रचलन छ ।
युवा पुस्ता पलायन र बुढापाकाले प्रयोग गर्न नसक्ने हुँदा मादलको प्रयोग घट्नुका साथै मौलिक संस्कृति पनि लोप हुने अवस्थामा पुगेका छन् ।सत्ताइस वर्षदेखि मादल व्यवसाय गर्दै आउनु भएका दिलबहादुर नेपालीले सरकारले मौलिक संस्कृतिसँगै बाजाहरूको संरक्षण गर्न नसक्दा व्यवसाय नै संकटमा परेको गुनासो गरे ।
विगतमा तिहारका लागि वर्षभरि मादल बनाउने गर्ने र एक महिनामा बच्ने गरेको स्मरण गर्दै पहिले बनाएका मादल विक्री नहुँदा आजसम्म पनि गोदाममै थन्किएको सुुनाए । उहाँ मादल व्यवसायको संरक्षण गर्न सरकारले गाउँ–गाउँ विद्यालय तहमा नेपाली मौलिक बाजाको विषयमा पाठ्यक्रम समावेश गर्नु पर्ने बताउँछन् । जिल्लाका १० वटै पालिकाले कला संस्कृति संरक्षणका लागि पश्चिमा संस्कतिलाई निरुत्साहन गरे मादल व्यवसाय फस्टाउने र स्थानीय संस्कृतिको जगेर्ना हुने नेपालीले बताए ।
आफूले उत्पादन गरेको मादल बागलुङ जिल्लाका विभिन्न स्थानसँग गुल्मी, पाल्पा, अर्घाखाँची, रोल्पा, रुकुम, पर्वत, म्याग्दी र बुटवलसम्म पुग्ने गरेको भन्दै अचेल कतैबाट पनि माग नआउने उनले सुनाए । मादल बनाउने सम्पूर्ण कच्चा पदार्थ नेपाली नै प्रयोग हुने उहाँको भनाइ छ । मादलको माग घटेसँगै कच्चा पदार्थ पनि पाउन छोडेको नेपालीले बताए । अन्य समयमा भन्दा तिहारमा मादलको व्यापार हुने भए पनि अहिले मादलको व्यापार ९५ प्रतिशतले कमी आएको उनको भनाइ छ । पहिले विदेल जानेहरुले पनि आफू कहाँबाट मादल किनेर लैजाने गरेको सम्झिन्छन् ।













