रुँदा बच्चाहरुको अभिव्यक्तिको भाषाको प्रकट मात्र नभई थेरापीको पनि काम गर्छ । जब बच्चा रुन्छन् त्यसले उनीहरुको भावनात्मक र शारीरिक रुपमा फाइदा पुग्छ । रुँदा उनीहरुको मनोविकार पखालिन्छ केही बेर निस्फिक्री रोएपछि मन चंगा हुन्छ ।
कहिलेकाहीँ बच्चाहरु कुनै कुरा मागेर वा घुर्की लगाएर बाबुआमालाई दबाब दिन रुने गर्छन् । यस्तो स्थिति बुझेर उनीहरुलाई रुन छाडिदियो भने निश्चित समय रोएर थाक्छन् । त्यसपछि आफैं फक्किन्छन् ।
यदि बच्चाहरु अनावश्यक कुरामा जिद्दि गरेर रोएका छन् भने उनीहरुलाई रुन नै छाडिदिनुपर्छ । ‘जब बच्चा रोएर आफैं फकिन्छन्, तब उनीहरु भावनात्मक रुपमा बलियो पनि हुन थाल्छन् । सानोतिनो कुरामा चित्त दुखाउने, रुने, दुःखी दिने बानी हट्दै जान्छ ।’ त्यसैगरी रुँदा मांसपेशीको पनि व्यायाम हुनेगर्छ ।
तर, त्यसो त मनमा गुम्सिएको कुरालाई प्रकट गर्ने सही मेलो नहुँदा पनि बच्चाहरु रुने गर्छन् । जस्तो उनीहरुले विद्यालयमा सास्ती भोगिरहेका हुन सक्छन्, साथीभाइले दुःख दिइरहेको हुन सक्छ, परिवारमा कुनै समस्या भएको हुन सक्छ । यस्ता विविध कारण हुन सक्छ, जहाँ उनीहरुले खुलेर आफ्नो कुरा भन्न सक्दैनन् वा जान्दैनन् ।
यस्तो स्थितिमा बालबच्चाले आफ्नो कुरा रोएर प्रकट गर्छन् । ‘कुनै माग नराखी वा घुर्की नलगाई पनि रोइरहेको छ भने त्यसको कारण खोज्नैपर्छ,’ विद्यालय, घरपरिवार, साथीभाइ कतैबाटै कुनै समस्यामा परेका हुनसक्छन् र उनीहरु खुलेर आफ्नो कुरा भन्न पनि सकिरहेका हुँदैनन् । यस्तो बेलामा भने उनीहरुलाई अभिभावकको साथ र सहयोगको खाँचो हुन्छ । यस्तो स्थितिमा बच्चा रोएको छ भने उनीहरुको समस्या पहिचान गर्ने, माया र स्पर्श जरुरी हुन्छ ।













