भक्तको हार्दिक प्रेम पक्का छ भने गुरुले उसको हुनुपर्छ । यो हार्दिक सम्बन्धमा बन्धन हुँदैन, आनन्दै आनन्द हुन्छ ।
सबै परिस्थितिमा हृदयले गुरुभक्ति निभाउँछ । जस्तो भाव आउँछ जहाँ भए पनि उसको मनस्मृति गुरुका साथमा रहनुपर्छ ।
परिस्थितिले सदाकाल साथ न दिए पनि मन गुरु सँगैमा रहनु श्रद्धा हो । यही साँचो भक्ति पनि हो । यो प्रश्न यस्तै स्तरको हो, जस्तै ः कसैले सोध्ला खाएको अन्न मल बन्न नदिई बचाउन सकिन्छ कि सकिन्न ।
मेरो विचार यो छ कि एउटै आहार आवश्यक रूपान्तरण हुँदैहुँदै स्थूल भाग मल बन्न पुग्दछ । त्यसलाई जस्ताको त्यस्तै प्रयोग ग¥यौं भने दुर्गन्ध मात्रै थाहा पाइन्छ, परन्तु त्यही मल सुपाक भएर अन्नोत्पादन गरिन्छ भने त्यसले सहयोग गर्छ ।
यसरी हामी यस निदानमा आयौं कि संस्कार र इच्छाले जन्मेको शिक्षा विकृत नभई छोड्दैन । जन्मेको वा नरोपेको बीउ पनि व्यर्थ नगई सुरक्षित रहन्छ भन्न सकिन्न ।
समग्र क्रान्ति इच्छाको नाश वा शमन वा विचारबाट मात्रै हुन्छ । पूर्वका आचार्यहरूले क्रान्ति गरे तर इच्छा र संस्कारको अतिक्रमण गर्न सकेनन् । बुद्धले लोक इज्जत र मान्यताको भेष, भिक्षा र नारीमा भेदभाव अन्तर्गत आफ्नो सीमा राखे । आचार्य शङ्कर पनि आमालाई सन्यास दिन सकेनन् । त्यस्तै रामानन्द तथा कबीरहरूको प्रसङ्ग छ । रामानन्दले जातिपाति छोड्न सकेनन् ।
इतिहासमा सिद्धार्थ सत्य अन्वेषक थिए तर उनका जीवनका सबै शिक्षा सुरक्षित छैनन् । उपनिषद्का सबै शिक्षाहरू धारणामा आधारित छन् । नाम नदिई तिनीहरू चर्चा गर्दैनन् । नाम दिँदा अतिवाद आइहाल्छ । सम्झनुपर्ने के हो भने दुईको संवादमा या चर्चामा त्यो वास्तविक तत्व ल्याउन सकिँदैन । यही समस्या हो एकत्व अनुभव भएपछि यो उपदेश, वार्ताको इच्छा वा समस्या रहँदैन ।
हृदय मिलेपछि एकत्व हुन्छ । स्वार्थले, आवश्यकताले मनोरञ्जनका लागि निर्भर सम्बन्धमा द्वैत भइरहन्छ । समर्पण भन्ने तत्व मनको विलय हो, जो काल्पनिक भाषा हो यथार्थमा जब हेतु र इच्छा रहँदैन तब भक्ति, श्रद्धा, समर्पण, ज्ञान, योग यी सबै मात्र इन्द्रधनुष रहन्छन् ।
साभारः ‘विचारप्रवाह’ पुस्तकबाट













