ध्रुवराज थापा ’पुरूष’
“होईन के पारा हो तेरो, टीका र जमरा नै भिरेर आएछ त यसले ! कुरा के हो ?” बुबाले अचम्म मान्दै सोधे । “स्कुलमा सर मिसले सबैलाई लगाइदिनु भएको — छोराले उत्तर दियो ।
काम छैन नौरङ्गी ढर्रा पारेर मात्र के गर्नु ?— बुबा फत्फताउन थाले ।
के भयो त किन कराउनु, त्यति लगाएर के भयो त ? उनीहरूलाई व्यवहारिक ज्ञान दिएको रे क्या ! त्यही भएर जमरा यसरी राखिन्छ, टीका यसरी लगाइन्छ भनेर सिकाएको रे ! आमाले जवाफ दिइन् ।
बुबाको रिसको बारुद पड्क्यो, “हो यही भएर धर्म संस्कृतिको महत्व घट्दै गएको । जमरा राख्ने, टीका लगाउने बिधिविधान हुन्छ, शुभसाईत हुन्छ । स्कुलले संस्कृति सिकाएको हो कि विकृति सिकाएको ? पितृपक्षमा जमरा राख्ने, अनि टीका लगाउने हो ? यस्तो कुरामा पनि खेलाँची गर्न हुन्छ ? दसैँमा घरघरमा जमरा राख्छन्, टीका लगाउँछन् । आफ्नोमा नगरे छिमेकबाट सिक्छन् ! यो सब संस्कृति मास्ने खेल हो ! बुढा कड्कीए ।
साभारः लघुकथा कुनोबाट













