सत्तारुढ गठबन्धनमा आवद्ध दलहरुको निर्वाचन परिचालन सचिवालय समितिको संयुक्त बैठकले निर्वाचनका क्रममा देखिएका समस्या समाधान गर्न पहल गर्ने निर्णय गरेको छ ।
आज नेपाली काँग्रेस पार्टीको केन्द्रीय कार्यालय सानेपामा काँग्रेस, माओवादी केन्द्र), नेकपा एस, लोसपा र राष्ट्रिय जनमोर्चाका निर्वाचन परिचालन समितिमा आवद्ध नेताहरुको संयुक्त बैठक बसेर निर्वाचन परिचालनमा देखिएको समस्या समाधान गर्न पहल गर्ने निर्णय गरेको हो ।
काँग्रेसका नेता तथा काँग्रेस निर्वाचन परिचालन सचिवालय समितिको सह–संयोजक दिव्यमणि राजभण्डारीले गठबन्धनका समस्या समाधान गर्दै धेरै भोट प्राप्त गर्नेगरी चुनावी अभियानमा जाने विषयमा छलफल भएको बताउनु भयो ।
नेकपा (माओवादी केन्द्र) का नेता महेश्वर दाहालले कतिपय ठाउँमा अझैपनि बागि उम्मेदवारहरु रहेकाले बागि फिर्ता गराउने विषयमा छलफल भएको बताउनु भयो ।
बैठकमा काँग्रेसका अम्बिका बस्नेत, दिव्यमणि राजभण्डारी र सुरेश आचार्य सहभागि हुनुहुन्थ्यो । त्यसैगरि माओवादीबाट महेश्वर दाहाल, गोविन्द आचार्य र विष्णु सापकोटा नेकपा एसका लक्ष्मण केसी, लोसपाका दामोदर आचार्य र राष्ट्रिय जनमोर्चाका हिमलाल पुरीको उपस्थिति थियो ।













