काठमाडौँ । हमासको पछिल्लो रकेट आक्रमणपछि इजरायलले अब लामो युद्धको घोषणा गरेको छ । यसैबीच, इजरायली रक्षामन्त्री योभ गालान्टले सोमबार गाजा पट्टीलाई पूर्ण रूपमा घेराबन्दी गर्ने आदेश दिएका छन् । गाजा पट्टीमा हमासको शासन छ । दुई दिनअघि आतंकवादी समूहले गरेको आक्रमणमा सात सयभन्दा बढी इजरायली नागरिकको मृत्यु भइसकेको छ ।
रक्षामन्त्री गालान्टले भनेका छन्- ‘मैले गाजालाई पूर्ण रूपमा घेराबन्दी गर्ने आदेश दिएको छु । गाजालाई कुनै बिजुली, खाना वा इन्धन आपूर्ति गरिने छैन । हामी आतंकवादीहरूसँग लडिरहेका छौं र तदनुसार जवाफ दिनेछौं ।’ गाजा आफ्नो आधारभूत आवश्यकताहरूको आपूर्तिको लागि इजरायलमा ठूलो मात्रामा निर्भर रहन्छ र यस्तो निर्णयले गाजा क्षेत्रमा बसोबास गर्ने २३ लाख मानिसहरूको लागि दूरगामी परिणाम हुन सक्ने अनुमान गरिएको छ ।
रकेट हमलापछि हमास लडाकुहरूले शनिबार तटीय क्षेत्रका सडकहरूमा उत्सव मनाउँदै गरेको देखिएको छ, जबकि नागरिकहरू जवाफी हमलाको डरले आधारभूत आवश्यकताहरू जम्मा गरिरहेको देखिएको छ ।
दक्षिणी इजरायली सहरहरू जस्तै, गाजाका सडकहरू विगत दुई दिनदेखि पूर्ण रूपमा सुनसान देखिएका छन् । शनिबारदेखि सुरु भएको यस हमलामा हमास समुहले महिला, वृद्ध र बालबालिकासहित एक सयभन्दा बढी इजरायलीलाई बन्धक बनाएको बताइएको छ ।













