– दिव्य गिरी
बाजेले बा’लाई भनेका थिए– ‘घर बनाउनु सबैभन्दा दुःख हुन्छ ।’ त्यही दुःख भोगें मैले पनि । दुई वर्ष लाग्यो घर निर्माण सम्पन्न गर्न । पैसाको अभावमा घरको भित्री सजावट मात्र गरें । घर मात्रै बनेर भएन धारा, टेलिफोन र इन्टरनेट पनि चाहियो ।
धाराको निम्ति खानेपानी संस्था, टेलिफोनको लागि दूर संचार संस्था र नेटको लागि प्राइभेट कम्पनीमा निवेदन दिएँ । पैसा तिरेको दस एघार दिनसम्म पनि खानेपानीबाट कोही आएन । पाँच छ पटक फोन गरें । उताबाट ‘तपाइँको घर नै पत्ता लागेन भन्ने’ मात्र जवाफ आयो ।
एक दिन साँझ घर पुग्दा पर्खालको भित्तातिर खनेको देखेर हेरें, खानेपानीको पाइप रहेछ ।
टेलिफोन जडान गर्न पनि तेस्तै भयो । टेलिफोन अड्डामा फोन गरेर किन टेलिफोन जडान नगरेको भनेर रिसाएँ । त्यही दिन मोबाइलमा फोन आयो । श्रीमतीले घरबाट नयाँ टेलिफोन राखेको खबर गरिन् ।
इन्टरनेट राख्न नेटको अफिसमा फोन गरें । हप्तादिनसम्म पनि कोही आएको होइन । आफ्नो थुप्रै इमेल हेर्ने र पठाउने काम सबै रोकियो । इन्टरनेटवालालाई ‘अब तपाईंको नेट चाहिन्न’ भनेर घुर्काएँ ।
भोलिपल्ट अफिस जान तयार हुँदै थिएँ, फोन आयो ।
‘यो जुजुकाजीको घर हो ?’
‘हो, म जुजुकाजी नै बोल्दैछु ।’
‘हामी नेटको अफिसबाट, तपाइँको घर त्यो रोगन नलगाएको घरबाट कतातिर पर्छ ?’
‘त्यही रोगन नलगाएको घर नै मेरो घर हो । त्यही घरमा आउनुस् । नेट नभएर मेरो काम सबै बर्बाद भइसक्यो ।’ मैले भनें ।
‘हामी दिनदिनै त्यहाँ पुगेर फर्किएका हौँ । हजुरले पहिले नै हामीलाई रोगन नलगाएको घर भनेको भए उहिल्यै नेट जोडिन्थ्यो ।’
नेटवालासँग भएको कुराकानी सुनिरहेकी श्रीमतीले भनिन्– ‘हो नि हजुर, यो टोलमा सबैले हाम्रो घरलाई रोगन नलाएको घर भन्दा रहेछन् । यहाँ टोलभरिमा रोगन नलगाएको घर हाम्रो मात्रै छ । मैले पनि खानेपानी र टेलिफोन अड्डाका मान्छेलाई रोगन नलाएको घर हो भनेपछि उनीहरू त्यही दिन आएका हुन् । काका रत्नकाजीको घरमा लगाएको रोगन मलाई मन परेको छ । अब हाम्रो घरमा पनि त्यस्तै रोगन लगाउनै प¥यो ।’
रोगन नलगाएको घर भनेर मेरो घरको परिचय बनिसकेको रहेछ । अब रोगन लगाएर घरको परिचय मेटुँ कि यही परिचयलाई कायमै राखुँ ? मैले आफैसँग सोधें ।
साभारः लघुकथा कुनोबाट













