स्पेनले खडेरीका कारण उत्पादनमा कमी आएको भन्दै त्यसको पूर्तिका लागि थप गहुँ, मकै र जौ आयात गर्ने बताएको छ।
खडेरीका कारण यस वर्ष अन्नबाली, गेडागुडी लगायतका बाली उत्पादनमा स्पेनमा उल्लेख्य कमी आएको छ। स्पेनका कृषि, मत्स्य पालन खाद्यमन्त्री लुइस प्लानसले सामान्य उपभोग पूरा गर्न विदेशबाट २० देखि २१ लाख टन खाद्यान्न किन्नुपर्ने बताए।
स्पेनमा खाद्यान्न उत्पादन यस वर्ष करिव ११ मिलियन टन हुने अपेक्षा गरिएको छ। जुन २०२२ को तुलनामा ४० प्रतिशत कम हो। मुख्यतया सिंचाईको लागि पानीको अभावका कारण स्पेनमा जौ उत्पादनमा वर्षैपिच्छे ३९ प्रतिशत, गहुँमा ३६ प्रतिशत र मकै उत्पादन २० प्रतिशतले घट्दै गएको तथ्यांकले देखाएको छ।
जौको उत्पादन गत वर्षको तुलनामा ५५ प्रतिशतले कम छ भने मूल्य गत वर्षको तुलनामा ५० प्रतिशतले बढेको छ।
स्पेन सरकारले २०२३ कृषि बीमाको इतिहासमा सबैभन्दा बढी नोक्शान भएको वर्षको रुपमा अनुमान गरेको छ। कुल क्षतिपूर्ति १ अर्ब युरोभन बढी हुनेछ, जसमध्ये करिब ४६ करोड युरो खडेरीले क्षति पुगेको बालिमा विनियोजन गरिने बताइएको छ।













