१. तिम्रो शरीर परमात्माको दुर्लभ कृति हो, यो अनमोल छ । यस देह रुपी मन्दिरमा परमात्मा बसेका छन् । यसमा सात ढोका भित्र गर्भगृह बनाएका छन् । नौवटा प्रवेशद्वारमध्ये जुनबाट प्रवेश गरे पनि सात लोकको यात्रा गर्नुपर्छ । सातवटा शररको योग नै यो तिम्रो भौतिक शरीर हो जसको गर्भगृहमा परमात्माको बास छ ।
२. प्रत्येक शरीरको विकासमा सात वर्षको अवधि लाग्दछ । सात वर्षमा भौतिक देहको विकास हुन्छ, चौध वर्षसम्म भाव शरीरको विकास हुन्छ, एक्काइस वर्षसम्ममा सूक्ष्म शरीर तर्क, बुद्धिको विकास हुन्छ । अठ्ठाइस वर्षसम्म चौथो मन शरीरको विकास हुन्छ, यो अनुभवको संसार हो । यो मानस शरीर बहुआयामी र धेरै सम्भावनाले युक्त छ । यहीँबाट खतरा शुरु हुन्छ । यो मानस शरीर पूर्णतः निजी छ । यसै शरीरले रिद्धिसिद्धि प्राप्त गर्न सकिन्छ । यो विज्ञान, प्रयोग र अनुभवको क्षेत्र हो । यसैलाई प्रयोगशाला बनाऊ, यसलाई योगी बनाऊ । मनको समाधि नै जीवको आत्मा साक्षात्कार हो ।
३. आफ्नो, प्रेम भक्ति, योग, ध्यानलाई सर्वप्रथम कसैको चाहबाट मुक्त गर । प्रेमलाई मौन हुन देऊ, भक्तिलाई हृदयमा पुग्न देऊ, योगलाई आत्मासँग जोडिन देऊ, ध्यानलाई आकाश बन्न देऊ । यी सबलाई आत्मासँग जोडिन देऊ । यथार्थमा प्रेमी भक्त बन । यी सबलाई आत्मातर्फको यात्रा गर्न देऊ जे घट्छ घट्न देऊ, घटाउने प्रयत्न नगर, जे हुन्छ हुन देऊ, खुला र स्वतन्त्र बन ।
४. जबसम्म चौथो शरीरमा कुण्डलीनीको जागरण हुँदैन, तबसम्म पाचौँ शरीरमा प्रवेश पाउन सकिन्न । कुण्डलिनी शक्ति सूक्ष्म शरीरकै हिस्सा हो । कुण्डलिनी जागरण पछि अथवा चौथो शरीरको प्रभावबाट मुक्त भएपछि नै आत्मा साक्षात्कार (आत्म शरीरको दर्शन) हुन्छ । चौथो शरीर पछाडि यो छ । यो भाव र विचारभन्दा पर छ । यो आत्मा शरीरको जब मृत्यु हुन्छ तब सूक्ष्म शरीरसँग यसको यात्रा हुन्छ । सूक्ष्म शरीरको उमेर करोडौँ वर्षको हुन्छ । यो छैठौँ शरीर हो, योगीहरु यसैमा रहेर लोकान्तरको यात्रा गर्दछन् ।
५. मानिस नाता, मोह र देहसँग बाँधिएको छ, भाव बुद्धिसँग बाँधिएको छ । यी भन्दा बढी साइकिक बन्धनमा छ— कोही करुणाको, कोही त्रासको कोही प्रेमको बन्धनमा छ । यी सबै बन्धनलाई छिनाल्न तब मात्र सम्भव छ जब कुण्डलिनी जाग्दछ । यही कण्डलिनीले समस्त बन्धनलाई तोड्ने छ ।
६. तपस्या कर्म हो । तपस्याको परिणाम धर्म हो । तपस्यामा प्राकृतिक रुपले धर्म उत्पन्न हुन्छ । जसरी गुणहरुको धर्म हलुका हुनु हो, प्रकाशित हुनु हो । पानीको धर्म बग्नु हो, अग्निको बल्नु हो । त्यसै गरी योगको धर्म हो सृजन र विनाश । योग प्राकृतिक हो, योग जीवन हो । योग एक स्वभाव हो ।
साभारः ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट













