बुद्धले एउटा गाउँमा प्रवचन दिइरहेका थिए । प्रवचन पूरा भइसकेपछि एकजना गाउँलेले उनीसँग सोधे— हे प्रभु ! तपाईं यत्तिका वर्षदेखि मनुष्यलाई शान्ति र मोक्षको कुरा सुनाइरहनुभएको छ, तर कति मनुष्यले शान्ति र मोक्ष प्राप्त गरेका छन् ?’
बुद्धले भने— तिमी पहिले गाउँमा गएर उनीहरु के पाउन चाहन्छन् भनेर पत्ता लगाऊ । त्यसपछि मकहाँ आउनू । मैले तिम्रो प्रश्नको उत्तर दिनेछु ।
ती गाउँले गाउँका प्रत्येक घरमा गए । सबैले सांसारिक सुखको कामना गरे । कसैले छोरो चाहिएको छ भने । कसैले धन प्राप्तिको चाहना व्यक्त गरे । शान्तिको इच्छा कसैले पनि गरेन ।
ती गाउँले पुनः बुद्धको नजिक गए र सबै कुरा बताए ।
बुद्धले भने— यही त कुरा छ । शान्ति र मोक्ष कसले चाहन्छ ? सबैले सांसारिक सुख–साधनालाई नै शान्ति प्राप्ति सम्झिन्छन् । सुखको मार्ग शान्तिको मार्ग होइन । त्याग र संयमबाट मात्रै शान्ति प्राप्त हुन्छ ।
साभारः ‘विश्वका उत्कृष्ट प्रेरक प्रसङ्गहरु’ पुस्तकबाट













