शरीरलाई आवश्यक सबै पोषक तत्व भएको खानेकुरा खानुपर्छ । खाना सुपाच्य, स्वस्थ्य हुनुपर्छ तर सन्तुलित, स्वस्थ्य खाना खाएर मात्र पुग्दैन । खाने समय पनि निश्चित तालिका अनुरुप हुनुपर्छ । स्वास्थ्यका लागि कस्तो खानेकुरा राम्रो भन्ने कुराले जति महत्व राख्छ त्यत्तिकै कुनबेला खाने भन्ने कुराले पनि महत्व राख्छ । रातीको खाना खाने र सुत्ने समय बीच न्युनतम २ घण्टाको फरक हुनुपर्छ । खाना खानसाथ तुरुन्त सुत्दा शरीरले ठूलो भार व्यहोर्नुपर्छ भन्ने विज्ञहरुको भनाइ छ तर प्रायः हामी राती अबेर नै खाना खान्छौ । राती लामो समयसम्म काम गर्नुपर्ने अवस्थामा हाम्रो खानपानको तालिका बिग्रन्छ । राती अबेर खाना खाँदा भने स्वास्थ्यका लागि हानिकारक बन्न पुुग्छ ।
१. दिनहुँ राती अबेर खाना खाँदा शरीरमा कोलेस्टोर बढ्छ । यसले हृदय रोगको खतरा बढाउँछ ।
२. राती अबेर खाना खाँदा राम्ररी निन्द्रा पुग्दैन । यसले आफ्नो कार्य क्षमता घटाउँछ साथै तनाव पनि बढाउँछ ।
३. नियमित जसो राती अबेर खाना खाने बानीले उच्च रक्तचाप निम्त्याउन सक्छ ।
४. राती अबेर खाना खाएर तुरुन्त सुत्दा खाना बोसोमा बदलिन्छ । यसले मोटोपनको समस्या हुनुको साथै ब्लड सुगर लेबल बढाउँछ र मधुमेह निम्त्याउन सक्छ ।
५. राती अबेर खना खाँदा खाना राम्ररी पच्न नपाउने हुँदा अपचको समस्या हुनसक्छ ।
६. राती खाना खाएर तुरुन्तै सुत्दा खाना फुड पाइमा आउँछ जसले गर्दा निन्द्रा नलाग्न सक्छ ।
खासगरी राती ८ बजेपछि खाना खानु स्वास्थ्यका लागि अनुकुल हुँदैन । जति राती खाना खाइन्छ, सुत्ने र खाना खाने समयको अन्तर उत्तिनै कम हुन्छ । खाना खाए लगत्तै सुत्दा पाचन यन्त्रलाई असर गर्छ । खाना पच्दैन र अतिरिक्त बोसोमा बदलिन्छ । यसले शरीरमा अनेक किसिमका गम्भिर समस्या पनि निम्त्याउँछ ।
रातीको खाना कुन समयमा खाने त ?
रातको समयमा खाने तालिका निश्चित हुनुपर्छ । साँझ घाम अस्ताउनुअघि नै रातको खाना खाएको राम्रो मानिन्छ । यद्यपी कार्य व्यस्तताको कारण साँझमा खाना खान सम्भव नहुन सक्छ । त्यसैले ६, ७ वा ८ बजेभित्र रातको खाना खाइसक्नुपर्छ । खाना खाएर एकछिन टहल्ने, घुमफिर गर्ने बानी अझ राम्रो हो ।
साभारः ‘स्वास्थ्य विज्ञान’ पुस्तकबाट













