काठमाडौं – नेपालमा हुने आपराधीक घटनामा पछिल्लो समय चिनियाँ नागरिकहरुको संलग्नता बढ्दै गएको जनाकारहरुले बताएका छन् । पछिल्लो समय बहुचर्चित सुन प्रकरणमा मात्र सात जना चिनियाँ नागरिक पक्राउ परेका थिए ।
कारागार व्यवस्थापन विभागका अनुसार देशभरिका कारागारहरूमा अहिले करिब एक हजार ४०० कैदी र बन्दीहरू छन्। त्यसमा ४० जना चिनियाँ नागरिक छन् ।
विभागका निर्देशक तथा प्रवक्ता कमलप्रसाद पाण्डे विभिन्न जेलमा ४० जना चिनियाँ नागरिक रहेको बताउँछन् ।
तीमध्ये सबैभन्दा धेरै काठमाण्डूको सुनधारास्थित केन्द्रीय कारागारमा छन्। कारागार प्रकाशक ललित बस्नेतले दिएको जानकारी अनुसार एक महिलासहित २८ जना चिनियाँ नागरिक छन्, “तीमध्ये १० जना कैदी र अन्य थुनुवा छन्।”
काठमाण्डूको डिल्लीबजारस्थित कारागारमा चार जना चिनियाँ छन्। कारागार प्रशासक रोमबहादुर महतका अनुसार उनीहरू चोरी, जबरजस्ती करणी, वैवाहिक बलात्कार र वन्यजन्तुको छाला ओसार पसार लगायतका मुद्दामा थुनामा पठाइएका हुन्।
बन कार्यालय, राजश्व अनुसन्धान विभाग, जिल्ला प्रशासन र भन्सार विभाग लगायतले थुनुवाको रूपमा जेल पठाउने गर्छन्।
एक अधिकारी भन्छन्, “पछिल्ला वर्षहरूमा चिनियाँहरूको सङ्ख्या बढ्दो छ।” पछिल्ला दिनहरूमा सानो(ठूलो परिमाणमा बरामद हुने गरेका सुनसँगै चिनियाँ नागरिकहरू पनि पक्राउ पर्ने गरेका छन्।
चिनियाँहरूले प्रवेशाज्ञा म्याद गुजारेर बसेको, एटीएम ह्याकिङ जस्ता मुद्दाहरू पनि खेपिरहेका छन्। पूर्वडीआईजी हेमन्त मल्लका भनाइमा सुरुमा वन्यजन्तुको छाला, हड्डी, पित्त अनि रक्त चन्दन लगायतको तस्करीमा चिनियाँ धेरै पहिलेदेखि संलग्न हुने गरेका थिए।
उत्तर तर्फबाट नाकाहरूको प्रयोग हुने गरेको उल्लेख गर्दै उनले भने, “ती सबै भारतबाट नेपाल हुँदै अन्ततः जाने भनेको चीनमै हो।”













