पछिल्लो समय धेरैजसो अभिभावकहरुको चिन्ताको विषय भनेको आफ्ना बालबालिकाले धेरै समय मोबाइल चलाएर सबैकुरा भुले भन्नेमा देखिन्छ । सुरुमा अभिभावकले नै बालबालिकालाई फकाउने, खाना खुवाउने तथा खुशी बनाउने नाममा मोबाइल चलाउन दिएका हुन्छन् । तर पछि त्यही बानी समस्या बन्न जान्छ । सानै उमेरमा बालबालिका मोबाइल देखेर खुशी भए तथा दङ्ग परे भनेर चलाउन दिनु घातक हुनसक्छ ।
बालबालिकाका कलिला आँखा मोबाइलको स्क्रीनले छिट्टै बिगार्नुका साथै बालबालिकाले धेरै समय मोबाइलमा निहुरिएर हेर्दा गर्दन तथा ढाडको हड्डीमा समेत समस्या आउँछ । यसका साथै स्वास्थ्यमा अन्य समस्या पनि निम्तिने गर्छ । त्यसकारण बालबालिकालाई मोबाइलबाट टाढा राख्ने उपाय अपनाउन जरुरी हुन्छ ।
बालबालिकालाई मोबाइलको लतबाट टाढा राख्न साथीहरूसँग खेल्न प्रेरित गर्नेे, पार्कतिर घुम्न लैजाने, अतिरिक्त सृजनशील काममा अभिप्रेरित गर्ने, उनीहरुसँग कुराकानी गर्ने, मोबाइल चलाउन निश्चित समय निर्धारण गर्ने, मोबाइलका बेफाइदाका बारेमा भन्ने, कुराकानी गर्ने, सधै नजिक रहने प्रयास गर्नुपर्छ ।













