निद्र्वन्द्व सुविधाजस्तो कुनै अवस्था छैन । यो खोज्ने मन धोखेवाज हो । मृत्यु या त्यागमा उत्रिन नसकेर अहंले, मनले, विचारले, मनोरथ दिवास्वप्न तथा भड्केकाहरूको अनुगमन गर्न चाहन्छ ।
अपेक्षामा बन्धन छ । संसारले पनि बन्धन ल्याउँछ । भाग्य, अपनत्व तथा अनुकूलता पनि बन्धन हो । प्रतिकूलतामा किञ्चित असुविधा होला परन्तु त्यसमा स्वतन्त्रता छ । अनुकूलता जो कि निर्भरता पनि हो, रुचि, अहं, आवेश व समय अनुसार बन्धन ल्याइरहन्छ । जस्तो यो मेरो शरीर छ, ठीक त्यस्तै त्यो दूबो घाँस पनि हो । सारा ब्रह्माण्ड त्यो दूबोको घाँसमा छ । जसले यो तथ्य बुझ्नसक्छ त्यो नमस्कारको पात्र हो ।
अन्तर्मुर्खी भए गुरु जहाँ भए पनि सान्निध्य, सत्सङ्ग भइरहन्छ । सत्यको काम हो मनलाई मार्नु अनि त्यहाँ आत्माको प्रकाश छर्नु । जो प्रेमी सत्यको शिक्षा, दीक्षा ताडन सहन गर्न सक्दैन, उसको सत्यमाथि ठूलो कृपा हुन्छ । त्यो प्रेमीबाट सत्यले स्वतन्त्रता पायो । शब्द, व्यवहार वा अपनत्वका कारणले जो दुःख वा विक्षेप भयो होला ! सत्य सदाका लागि क्षमा माग्दछ । एक या दुई अहङ्कारको शिक्षासित कहिल्यै कुनै किसिमको सम्बन्ध छैन ।
स्वार्थ भन्ने भाव मानसमा हुन्छ । कसैले भनेर स्वार्थ र परमार्थ हुँदैन । सुख सुविधा, धन सम्पत्ति अरू मानसम्मानको चाह, सुरक्षा एवं स्वार्थ हो । जहाँ यी छैनन् त्यो साक्षी हो । कोही सिद्धार्थ सत्यमा पुग्छ । प्रथम मिथ्याको त्याग हुनुपर्छ अनि अनित्यमा विवेकपूर्वक रहनुपर्छ । त्यहाँ रहँदा अशान्ति भए यथा अवसर भौतिक, दैविक, आध्यात्मिकको पनि त्याग हुनुपर्छ । यहाँ मोक्ष छ, जीवन छ । केवल परम छ अर्थ–स्वप्न हो, परम निद्रामा स्वप्न छैन ।
साभारः ‘विचारप्रवाह’ पुस्तकबाट













