१. हाम्रो प्रयत्न त मानववादी भावना फैलाउनु हो, जसबाट सबै मानिस जुनसुकै राष्ट्रियताका भए पनि आपसी वैमनस्य र खराब भावनालाई बिर्सिएर सम्पूर्ण मानव मात्रका लागि कार्यरत हुन सकून् ।
२. सबै देशका मानिस मानववादी भावनाले काम गरेका खण्डमा सारा राजनीतिक तथा अन्य मतभेद केही समयमा नै दूर हुनेछन् । यस प्रकारको स्थिति न त हठ धर्मिताबाट आउन सक्छ, न त हिंसात्मक प्रदर्शनबाट नै । केवल सर्त रहित भएर मानवताका पक्षमा काम गरेमा नै तपाईं आफूले खोजेको प्रतिफल पाउन सक्नुहुन्छ ।
३. मानव र मानवीय सुविधाको आर्जनका निम्ति अत्यावश्यक सङ्घर्ष र विरोध मानवीय स्तरको हुनुपर्छ, पाशविक स्तरको होइन । मानव मात्रको आधारभूत एकत्वलाई सधैँ स्मृतिमा राख्नुपर्दछ । आपसी समझदारी र एकता यसैका निम्ति आवश्यक कुरा हो ।
४. यदि मानिसले सुविधासाथ बस्न चाहने हो भने अरुसँग मैत्रीभाव राख्नुपर्छ शत्रुता होइन ।
५. मानवका हरवर्गले शान्ति, आपसी सहयोग र सद्भावनालाई बुझेर त्यतापट्टि आकृष्ट हुन सके भने निश्चय नै सबै आक्रमणकारी युद्ध र आत्मरक्षाका लागि लडिने शुद्ध पनि बन्द हुनेछन् ।
६. कुनै पनि प्रकारको वर्गीय भावनाबाट अलग रहेर सबै वर्गका मानिसको हृदय छुन सकोस् भनेर नै संस्थाको नाम मानववादी क्लब राखेको हुँ । धार्मिक सूत्रको कानुनका रुपमा भन्दा सामाजिक भेटघाट र गफगाफका माध्यमबाट मानवीय हितलाई छिटो र सजिलोसँग बुझ्न सकियोस् भनेर क्लब भनिएको हो ।
साभारः ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट













