१. वास्तविक क्रान्ति त्यो हो, जो समस्त प्रलोभनबाट मुक्त होस् । समस्त आदर्श र समाजका समस्त बन्धनबाट स्वतन्त्र होस् । तर तपाईंको शिक्षाले क्रान्तिकारी बन्न सघाएको छैन । त्यसको विपरित यो सिकाइरहेको छ कि तपाईं विश्वासलाई मान्नुहोस् र तिनमा सुधार गर्दै लानुहोस् ।
२. उचित प्रकारको शिक्षाले नै लोभ, भय र अधिकार–लिप्सालाई समाप्त गर्न सक्नेछ । तब पूर्णतया नयाँ संस्कृति र नयाँ विश्वको निर्माण गर्न सक्नेछौँ । उचित शिक्षाको आगमन तब हुन सक्छ जब हाम्रो मन मुक्त हुन्छ र स्वयम्लाई बुझ्न चाहन्छ ।
३. शिक्षाको उद्देश्य तपाईंलाई उपाधि दिनुमात्र निश्चय नै होइन । बरु तपाईंमा विचारशीलताको ज्योति जागृत गर्नु हो जसबाट तपाईं सम्वेदनशील, सजग, जागृत, सावधान र दयालु हुन सक्नुहोस् ।
४. कुनै पुस्तक जसले तपाईंलाई आत्मज्ञान सम्बन्धी केही जानकारी दिन्छ, त्यो जानकारी आत्मज्ञान कदापि होइन । जब मनले स्वयम्लाई आफ्ना सम्बन्धको ऐनामा हेर्दछ तब त्यही निरीक्षणको माध्यमबाट नै आत्मज्ञानको आगमन हुन्छ । आत्मज्ञान विना हामी यो उपद्रवलाई, कठोर पीडालाई, जुन हामीले नै निम्ताएका हुन्छौँ, कहिल्यै मेट्न सक्दैनौँ ।
५. हाम्रो ईष्र्या, लोभ, महत्वाकांक्षा र प्रतिस्पर्धा, जसले हामीलाई निष्ठुर कुशलतातर्फ अग्रसर गर्दछ, यिनी संघर्षका कारण हुन् । यिनले हामीलाई संघर्ष गर्न बाध्य गर्दछन् । महत्वपूर्ण कुरा यो हो कि खोजी गरौँ कि के हाम्रो मन पूर्णतया संघर्षबाट मुक्त हुन सक्दछ ।
६. अध्यापन जीवनको महानतम कार्य हो । यो पवित्र व्यवसायह हो । तर आज यो अत्यन्त तुच्छ भएको छ । शिक्षकका लागि यो अनिवार्य छ कि ऊ पूर्णतः समर्पित होस् । सम्पूर्ण मनलाई कार्यमा लगाओस् । मन र हृदयले समर्पित भएर सफलता सम्भव हुन्छ ।
साभारः ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट













