मासुमा रुची हुनेहरुका लागि पशुपंक्षीको मुटु, कलेजो, फोक्सो पनि निकै स्वाद लाग्छ । यस्तो परिकार बनाउने काइदा पनि फरक हुन्छ । यद्यपी मन खोलेर भने खान हच्किन्छन् । कारण, यस्ता खानेकुराले स्वास्थ्यमा असर गर्छ कि भनेर ।
खासगरी कलेजोको सन्दर्भमा धेरैले डर मान्छन् । पशुपंक्षीको कलेजो धेरैको मनपर्ने परिकार हो । तर, यसको सेवन गर्दा हानी गर्छ भन्ने डर धेरैलाई छ । उनीहरुलाई लाग्छ, पशुपंक्षीको सबै रोग एवं विषाक्त तत्व कलेजोमा जमेर बसेको हुन्छ । जब हामी कलेजो सेवन गर्छौं, साथसाथै त्यसमा रहेको विषाक्त तत्व पनि । तर कुरा त्यस्तो होइन । कलेजोको काम शरीरमा भएका विभिन्न प्रकारका विषादीलाई शरीरबाट निष्कासन गर्नु हो । कलोजोले शरीरमा जम्मा हुने विषाक्त तत्वलाई निष्कासन गर्ने भए पनि यसले सञ्चय गरेर राख्दैन । अर्थात विष कलेजोमा जमेर बस्दैन ।
बुझ्नैपर्ने अर्को कुरा भनेको विषाक्त रसायनहरुलाई शरीरबाट निष्कासन गर्नका लागि कलेजोले त्यस्ता रसायनलाई पानीमा घुलनसिल बनाउँछ । ती रसायनहरु रगत हुँदै मिर्गौलामार्फत पिसाबको माध्ययमबाट वाहिरिन्छन् । स्वास्थ्य परीक्षणमा रगत र पिसाब जाँच गर्नुको कारण पनि यही हो । यसबाट शरीरमा बन्ने र प्रवेश गरेका विषाधीहरुको बारेमा पत्ता लाग्ने गर्छ ।
कलेजोका परिकार खानुका फाइदा
– समाजमा पनि कलेजोलाई ऊर्जा प्रदान गर्ने पदार्थको रुपमा लिइन्छ । त्यसैले मानिस कमजोर हुँदा कलेजो सेवन गरेको पाइन्छ ।
– कलेजोमा प्रचुर मात्रामा पोषक तत्व हुन्छ । त्यसैले कलेजोलाई पोषणविद्हरुले ‘सुपरफुड’ पनि भन्ने गर्छन् ।
– कतिपय रोग निको पार्नकै लागि पनि कलेजोको सेवन गरिन्छ । क्यान्सर, मुटु, टि.बी. जस्ता रोगबाट ग्रसित मानिसहरुले कलेजोको नियमित सेवन गर्नुपर्छ । यस्ता रोग निको पार्नका लागि कलेजोले विशेष भूमिका खेल्छ ।
– विशेषगरी कलेजोमा भिटामिन बी १२को मात्रा अत्यधिक हुने गर्छ । भिटामिन बी १२ को कमिले रक्तअल्पताको समस्या निम्तन सक्छ । यो भिटामिनले शरीरको कोषहरुमा हुने डि.एन.ए लाई उचित ढङ्गबाट काम गर्न प्रेरित गर्छ । त्यस्तै यसले मष्तिस्कको कार्यक्षमता चुस्त बनाउन, अल्जाइमरबाट बचाउन पनि महत्वपूर्ण भूमिका खेल्छ ।
– खानाबाट शरीरमा प्रवेश गरेको भिटामिन ए कलेजोमा जम्मा भएर बस्ने गर्छ । जसलाई चाहिएको अवस्थामा पछिसम्म पनि प्रयोग गर्छ । त्यसैले हामीले कलेजो सेवन गर्दा सँगै भिटामिन ए पनि लिन्छौँ । भिटामिन ए को कमीले हामी धेरैलाई थाहा भएको काम भनेको यसले रतन्धोको समस्या निम्त्याउछ । यो भिटामिनले शरीरको प्रतिरक्षा प्रणालीलाई पनि बलियो बनाउँछ । यसले छालाको बृत्ति विकास गर्नुका साथै छालालाई चमक दिने काम गर्छ ।
कलेजोका परिकार खानुको बेफाइदा
यदि बन्द कोठामा विभिन्न औषधि, हर्मोन, असुद्ध खाना खुवाएर हुर्काइएको पशु–पंक्षी विषादी कलेजोमा मात्र नभई मासुमा पनि बस्ने गर्छ । त्यस्तै प्रकारका पशुपंक्षिको कलेजो सेवन गर्दा भने स्वास्थ्यमा असर पर्न जान्छ ।
साभारः ‘घरेलु उपचार विधि’ पुस्तकबाट













