काठमाडौँ । उरुग्वेका स्ट्राइकर लुइस स्वरेजले लियोनेल मेसीसँग पुनर्मिलनको तयारी गरेका छन् ।
हाल ब्राजिलको क्लब ग्रेमियोबाट खेलिरहेका ३६ बर्षिय स्वरेजले क्लबसँगको सम्झौता तोडेर अमेरिकी क्लब इन्टर मियामी जाने तयारी गरेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।
२०२३ को शुरुमा ग्रेमियोमा दुई बर्षको सम्झौता गरेका स्वरेजले इन्टर मियामीमा मेसीसँग खेल्नका लागि क्लबसँगको सम्झौता तोड्न लागेको बताइएको छ । इएसपीएन ब्राजिलका अनुसार ब्राजिलियन क्लब ग्रेमियो पनि स्वरेजको चाहनाको बारेमा अवगत रहेको र उनको चाहनामा बाधक नबन्ने भएको छ । क्लबसँगको सम्झौता तोड्दा स्वरेज क्लबले भुक्तानी गरेको अग्रिम रकम फिर्ता गर्न र सम्झौता अनुसारको अतिरिक्त शुल्क तिर्न तयार भएको बताइएको छ ।
त्यस्तै इन्टर मियामीले पनि स्वरेजलाई भित्र्याउने तयारी शुरु गरेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । ग्रेमियोका प्रशिक्षक रेनाटो गाउचोले स्वरेजको क्लब छोड्ने चाहनाले अप्ठ्यारोमा परेको टिप्पणी गरेका छन् ।
स्वरेजले ग्रिमियोमा अहिलेसम्म खेलेका ३१ खेलमा १६ गोल गरेका छन् । त्यसअघि २०२२ मा स्वरेजले आफ्नो उरुग्वेको पुरानो क्लब नासिओनलमा खेल्दै १६ खेलमा ८ गोल गरेका थिए ।













