नमस्कार भन्नुस् वा नमस्ते । यो हिन्दूहरुको साधारण परम्परा मात्रै नभएर यसका भौतिक र आध्यात्मिक फाइदाहरु प्रशस्त भेटिन्छन् । मिलाएर नमस्ते गर्दा दुवै हात अनाहत चक्रमा राखिन्छ, आँखा बन्द गरिन्छ अनि शिरलाई झुकाइन्छ । शिर झुकाएर आँखा बन्द गर्ने भनेको हृदयमा विराजमान ईश्वरप्रति आफैंलाई सुम्पिने काम हो ।
नमस्कारको अर्थ हुन्छ, सबै मनुष्यको हृदयमा रहेको दैवीय चेतना र प्रकाशप्रतिको सम्मान । एक आत्माले अर्को आत्माप्रति सम्मान र आभार प्रकट गर्नका लागि बनेको शब्द हो नमस्कार । हात जोडेर नमस्कार गर्दा तपाईंका औंला थिचिन्छन् र तिनलाई जोडिराख्दा हृदयचक्र र आज्ञाचक्र सक्रिय हुन्छन् । यसले आत्मिक जागरण गराउँछ अनि तपाईंको मन शान्त हुन्छ र अनुहारमा मुस्कान छरिन्छ ।
तपाईंलाई कसैप्रति साह्रै रिस उठ्यो भने तत्कालै त्यस मानिसलाई नमस्कार गरिदिनुस् । दुवै हात जोडिनेबित्तिकै रिस मरिहाल्छ । त्यस्तै अर्को मानिसलाई पनि तपाईंले नमस्कार गरिदिँदा तपाईंप्रति उठेको रिस उसले तपाईंसामू प्रकट गर्न सक्दैन ।
साभारः ‘वास्तुशास्त्र’ पुस्तकबाट













